मार्क्सवाद कतिपय – रामजी प्रसाद आचार्य – Sarangi News

—मार्क्सवाद कतिपय—-

कमरेड !
कहिलेकाहीँ मलाई द्विविधाले बेस्सरी च्याप्छ ।
हुन त तपाईंका धेरै कुराहरू मैले नबुझे पनि बुझेजस्तै गरेको छु ।
कतै नबुझेर तपाईंलाई सोधूँ भने पनि भन्नुहुन्छ-
“बुझ्नु र नबुझ्नु बीचको द्वन्द्व भनेकै असलमा मार्क्सवाद हो !”
तपाईं प्रायः आदेश मात्रै दिइराख्नुहुन्छ ।
तपाईंलाई थाहा हुनुपर्ने हो,
आदेश दिँदैमा फूलले आफ्नो रंग फेर्दैन ।
किनभने फूल तपाईंका दास होइनन् ।
फेरि
तपाईं झोक्किँदै भन्नुहुन्छ-
अक्सर फूलले यथास्थितिवादीको सेवा गर्छ ।
त्यो क्रान्तिको दुश्मन हो ।
अनि अर्को आदेश फर्माउनुहुन्छ ।
तपाईंले बुझ्नुपर्ने त हो,
आदेश फर्माउँदैमा
खोलाको पानी उम्लिँदैन ।
किनभने खोलाको पानी तपाईंको कारिन्दा होइन ।
तपाईं फेरि क्रोधले भन्नुहुन्छ-
यो खोला प्रतिक्रियावादी दलाल हो । यो वर्गशत्रु हो ।
तपाईं फेरि उग्र हुँदै चेतावनी दिँदै भन्नुहुन्छ ।
तपाईंले बुझ्नुपर्ने हो कि चेतावनी दिँदैमा कुनै पहाडले इतिहासको भारी बोक्दैन ।
किनभने पहाड तपाईंले पालेको गधा होइन ।
फेरि तपाईं उत्तेजित हुँदै भन्नुहोला-
यो पहाड बुर्जुवा हो । शोषक-सामन्त हो ।
कमरेड !
अब त,
वस्तु चिन्नुहोस्
तत्त्व बुझ्नुहोस्
पदार्थ । पदार्थको गति । गतिको नियम ।
तपाईंको एक आदेशमा
हामीले छेपाराले झैं रंग फेरेजस्तो
अगेनामा बसालेको दूध उम्लिएजस्तो
अनि गधाले झैं भारी बोकेजस्तो
मार्क्सवाद भनेको त्यो होइन ।
बेला छँदै तपाईंले बुझ्नुपर्ने हो, कमरेड !
तपाईं जे बोल्नु हुन्छ
त्यो मार्क्सवाद हुँदै होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।


TOP