प्रकाश अधिकारी
ऋतुहरुमा मलाई हरियाली बसन्त र वर्षा याम मन पर्छ लाग्छ । बसन्तमा कोइलीको कुहँुकुहुँ र बर्खामासा झरीले धरा सारा हराभरा हुन्छ । यहीबेला हिमाली र उच्च पहाडी भेगतिर प्रकृतिको एउटा सुन्दर खेला सुरू हुन्छ । अन्य समयमा सुख्खा र बेजान हिमाली पाटनहरू यो बेला हराभरा हुन्छन्, जंगली फूलहरू पाखैभरि ढकमक्क फुल्छन् । प्रकृतिमा रमाउने फकिरलाई यो भन्दा बढी के चाहियो र ? शनिबारको दिन । विद्यालय विदा । वर्षे झरीमा सपना उमार्ने यो पंक्तिकारलाई फुर्सद थिएन् । फुर्सद र हतारिएको साहित्यको विद्यार्थी भएकाले केही नयाँ, फरक र अनौठो पनले झ्याप्पै आकर्षण गरिहाल्छ । झमझम बर्सिएको थियो पानीे । प्रकृतिको जादु उस्तै । घरीको घाम । घरीको मुसलधारे पानी। घरीको कुहिरो । घरीको नीलो र घरी बादल भरिएको आकाश । झरी आफैमा अलौकिक सँगित रहेछ जस्ले थाहै नदिइ बहकाउने पनि रहेछ । अनेकौँ सोचि बसेको छ । झमझम बर्सिएको थियो पानीे । करेसातिर सुकिसकेका एक–दुई थान मकैका ढोडले पनि बजाउँदै थिए सुमधुर शास्त्रीय धुन ! गाउँदै थिए झरीको गीत । त्यही गीतले पंक्तिकारलाई भावनाको उच्चतम उत्कर्षको यात्रा गराएको छ । म्याग्दीको मालिका गाँउपालिका–५, देविस्थान । रैथाने नाउँ, दाङ्गा गाउँ ।
अध्यापक सहयात्रीे दीपक, चेत,किरण र महेश सर सहित एक फकिर टोली भर्चुअल दुनियाँमा रोमान्टिक कुरामा मस्त हुँदै थियौँ । चेत सरको प्रस्ताबमा हामी देविस्थान गाइखर्क ताल, खोरिया ताल र फुर्से दह घुम्ने योजना पारित भयो । तपाईंलाई हामी यो साता घुमफिरमा देविस्थान घुमाउँदै छौँ । पश्चिम म्याग्दीको तीन हजार तीन सय पचास मिटर अग्लो मालिकाधुरीमा त्रिदेवीको बास रहेछ –मालिका, कालिका र जालिका । त्रिदेवी बस्ने स्थान भएकाले नै यस गाउँको नाम देविस्थान रहन गएको किम्बदन्ती पाइन्छ । त्यती मात्रै होइन् त्यही मन्दिरको नामबाट गाउँपालिकाको नामाकरण गरिएको रहेछ । मालिकालाई सम्झेर जे भाकल ग–यो त्यो पूरा हुने जनविश्वास रहेछ । त्यहाँ युवायवतीहरु वैदेशिक रोजगारीमा जान पाइयोस् भनेर भाक्छन् । धेरैजसो सन्तान प्राप्ति(छोरा पाउँ भनेर), समृद्धि र निरोगीताको कामना गर्छन् र भाकल पूरा भएपछि मन्दिरमा आउने रहेछन् । प्राकृतिक एवं आध्यात्मिक भूमि मालिका ५ देविस्थान आत्रे गोत्रीय बगाले थापाले राज्य चलाएको ऐतिहासिक थलो हो । यहाँ भन्दा प्राचिन पहाड, सेताम्य हिमालहरु, पहाडी बस्तीमा रमाउनेहरुका लागि पृथ्वीमा कुनै ठाँउ छैन् । तालतलैया, पोखरी, दह, मठमन्दिर, पाटिपौवा, चौतारा, साना साना छरिएर रहेका वस्तीहरुले जोकोहीको मन लोभ्याउँछ । यहाँ गाईखर्क ताल, खोरिया दह, ठुल दह, जंगले झरना, महखोला झरना, कोटखोला झरना, घराङखोल झरना, पाते छहरा , धुन्द्रुक गल्छी प्रभु गुफा र रहस्यमय देउताभिर गुफाले आन्तरिक तथा वाह्यि पर्यटकको तन मन हर्ने रहेछन् । घुम्न लायक ठाँउहरु बारे लामो छलफ पछि हामीले केही ठाँउ घुम्ने निधो गर्यौ र गौ बोम बस्त माध्यमिक विद्यालयबाट खुसी, उमंग र रहरको उकाली चढ्यौँ ।
गाईखर्क ताल
म्याग्दीको रहस्यमय र अनौठो ताल भनेर चिनिने यो ताल समुन्द्रि सतहदेखि करिब २४ सय मिटरको उचाइमा अवस्थित छ । मालिका गाँपािलकाको देविस्थान ५ मा पर्ने दाङखोलाको सिरान थाप्ले पहाडको कोखमा बसेको छ । कतै पानीको मुहान देखिदैन, जंगलको विचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विषेशता भएको प्राकृतिक ताल हो गाईखर्क । हावा हुरीले तालमा पात झारे पनि चराले लैजाने र कहिल्यै पानी फोहोर नहुने यसको अर्को विशेषता हो ।
४६/४६ मिटर लम्बाइ, चौडाइ तथा ३ मिटर गहिराइ भएको तालको २०७४/७५ मा लम्बाइ चौडाइ बढाएर ५५/५५ मिटरको बनाइएको छ । पालिको सहयोग र स्थानीयको सक्रियतामा तालको छेउमा मन्दिर र गेट निर्माण गरिएको छ । हाडिस खोलादेखि तालसम्म सडक बनाएको छ । घरीथोकदेखि ३० मिनेट उकालो पैदल हिडेपछि पुगिने गाईखर्क ताल प्रचारप्रसार र संरक्षण नहुँदा अझै पर्यटकको नजरमा परेको छैन । बाँध बनाएपछि क्षेत्रफलसँगै गहिराइ पनि बढेको छ । गोलो आकारको तालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा लगायतका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक दृश्यले सुशोभित र मनोहर छ । फेवातालको आगनमा जसरी माछापुच्छ्रेको छायाँ पर्छ त्यस्तै गाईखर्कतालमा धौलागिरि र गुर्जा हिमाल पौडि खेलेको देख्न सकिन्छ ।
कसरी पुग्ने ः काठमाडौं–बेनी २८२, बसमा १० घन्टा हिँडेपछि मायालुको शहर बनी आइपुगिन्छ । बेनी–दरबाङ २३ किमि, बसमा २ घन्टा हिँडेपछि पश्चिम म्याग्दीको केन्द्र दरबाङ आइपुगिन्छ । दरबाङ करिब ९ किमि जिपमा कच्ची सडकको यात्रा गरेपछि घरिथोक झर्न सकिन्छ । हाडिस खोलादेखि तालसम्म पुग्न ३० मिनेट उकालो पदयात्रा गर्नुपर्दछ ।
खोरिया ताल
गाईखर्क तालमा केही बेर गुर्जा र धौलागिरी हिमालसंगै पौडिखेलेपछि घँगारुको जंगल हुन्दै हंग्लयाङ डाँडा उक्लिनुपर्छ । खोरिया ताललाई स्थानियले खोर्रे दह पनि भन्छन् । खोर्रे दहमा हिँउदमा पानी सुक्ने र वर्षा याममा टिलपिल पानी भरिएको हुन्छ । करिव २०० मिटर लम्बाई र १२० मिटर जति चौडाइ क्षेत्रफल ओगटेको ताल हार्ट अर्थात मुटु आकारको रहेको छ । यो तालमा यो याममा स्थानीय युवायुवती गर्मी छेल्न पुग्छन् ताल र सामेलीसंग प्रीति पनि गाँस्छन् । तालमा विजुलीको पोल गाडेको हुनाले करेन्ट सट भयो भने ठुलो जनधनको क्षति हुन सक्ने भएकाले स्थानिय पालिकाले तत्कालै पोल हटाउनु पर्ने हुन्छ । घँगारुको रातै फुल, बास्नादार बनफुलहरुले पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् । चराचुरुङ्गीको चिरविर आवाज र थाप्लेको डाँडाले मदहोसी बनाउँछ । हिउँद याममा ताल वरिपरि डा«इ पिक्नीक खादै मनोरञ्जन गर्ने हुलका हुल युवायुवतीहरु जार्ने गर्दछन् । यो ताल नजिकै माया साटेर एक घण्टा जती उकाली चड्दै गर्दा तालतलैया गाँउ देविस्थानको शिर पुगिन्छ मालिका धुरी ।
मालिका धुरी
कल्पनाले अन्नत सम्भावनाहरू खोतल्ने रहेछ । जति उकालो चढ्दै गयो उति सास फुल्ने, मन भुुल्ने रहेछ । हग्लाङको डाडाँबाट प्रकृतिको अद्भुत कला देखिन्छ । माछापुच्छ्रे, अन्न्पुर्ण, धौलागिरी, निलगिरी हिमालको दृश्य देख्दा त सपना हो कि विपना पनि भइरहेको थियो। भ्रम हो कि भनी आँखा पुछेँ तर होइन रहेछ । अझ माथी समुन्द्रि सतहदेखि करिब ३३ सय मिटरको उचाइमा अवस्थित मालिका धुरी, माछापुच्छ्रे, अन्न्पुर्ण, धौलागिरी, निलगिरी, चुरेन, पुथा, गुर्जा, मानापाथी हिमाल सेतो हिउँ बोकेर मुसुक्क मुस्कुराइरहेको थियो। यस्तरी मुस्कुराइरहेको थियो जसरी वैंशले भरिभराउ युवायुवती मुस्कुराउँछन्। अलिकति लाज, सिल्प अनि अपार सुन्दरता लिएर ।
मालिका धुरीलाई ३६० डिग्री घुम्दा पञ्चासे, पोखरा, कार्कीनेटा, स्याङ्जा,बाग्लुङका केही भुभाग र म्याग्दी जिल्लाका अधिकांस ठाँउहरु देख्न सकिन्छ। प्रकृतिले देखाउने यस्ता रुप–रङ्ग र त्यसैमा छक्क र मख्ख पर्ने हामी मनुष्य, कठै ! अन्तर्राष्ट्रिय पर्यटकलाई त परको कुरा, आन्तरिक पर्यटकहरूमा पनि यसबारे निकै कम ज्ञान छ । त्यसमाथि बर्सेनि यही बेलामा जाने बाढीपहिरोका कारण धेरै कम मानिसहरू घुम्न निस्कने गर्छन् । यहाँका गगनचुम्बी चुचुराहरु, साँस्कृतिक र धार्मिक संयोजन गर्न स्थानियलाई स्थानिय सरकारले प्रोत्सान गर्नु जरुरी छ ।
देउताभिर गुफा
मालिका गाउँपालिका ५ देविस्थानमा रहेको देउताभिर गुफा एक रहस्यमय गुफा हो । प्रकृति र अध्यात्मिक पर्यटनको केन्द्रको रुपमा विकास गर्न सकिने गुफामा बुद्ध जयन्तीको अवसरमा विशेष पूजा हुने गर्दछ । गुफामा पुगेर दर्शन तथा पूजा गरेमा आफ्नो भाकल र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
गुफाका पुजारी कर्णबहादुर घर्तीका अनुसार गुफामा सुख, शान्ति र सफलताको कामनासँगै बच्चा नभएका दम्पतीले बच्चा प्राप्तिको लागि भाकल गर्ने चलन रहेको छ । यस गुफामा सिद्धको थान रहेकाले नरिवल चढाएर पूजा गर्नुको साथै भाकल गर्नेले परेवा, पाठालगायतको बलिसमेत दिने गरिन्छ ।देउताभिर गुफाभित्र र परिसरमा हात्तीको सुँड, नाग सर्प, गाईको थुन, केरालगायतका आकर्षक आकृति दुरुस्तै देख्न सकिन्छ । देवीस्थानको मगर दाङबाट आधा घण्टाको ओरालो यात्रापछि पुगिने दाङखोला तरेर उकालो ४५ मिनेट हिँडेपछि देउताभिर गुफामा पुग्न सकिन्छ ।
उकालीका गोरेटा साँघुरा छन् । डरलाग्दो भीर छ। त्यस्तो ठाउँमा सुरक्षा बार (रेलिङ), ठाउँठाउँमा संकेत पाटी भैदिए यात्रुलाई सजिलो हुने थियो । हाम्रो ठाँउको विकास अरु आएर गरिदिदैन् । आफ्नो ठाँउको विकासमा स्थानिय नै अग्रसर हुनुपर्छ । मगरदाङ्गको देउताभिर युवा क्लबले वर्षेनी बुद्ध पुर्णिमामा आधा महिना सम्म मेला संचालन गर्छ । कम्तिमा पालिकासंग सहकार्य गरेर आक्रामक प्रचारमा जोड दिनुपर्छ क्लबले । त्यसका लागि देविस्थानको महिमा झल्काउने डकुमेन्ट्री, युट्युव भिडियो, बुकलेट, ब्रोसर, पोस्टर लगायत डिजिटल र परम्परागत प्रवर्द्धनात्मक सामाग्री उत्पादन गर्नु पहल गर्न सके गाउँ पर्यटनको हब बन्ने कुरामा कुनै संका छैन् ।
अन्त्यमा,
यहाँको भौगोलिक अवस्थिति एवं ऐतिहासिक पृष्ठभुमि अनुसारका सांस्कृतिक र प्राकृतिक दुवैखाले पर्यटक आकर्षण दिन सक्छन् । गाँउलाई पूर्वाधारबाट विकसित र सुविधा सम्पन्न राख्न सकेको अवस्थामा यस क्षेत्रले देशको अर्थतन्त्रमा सकारात्मक तथा दीर्घकालिन प्रभाव पार्न सक्दछ जसको प्रत्यक्ष फाईदा स्थानीयस्तरका बासिन्दालाई पर्दछ भने यसले स्थानीयस्तरको कला सँस्कृती, भेषभूषा संरक्षणमा सचेतना प्रदान गर्दछ । जसबाट महिला तथा पिछडिएका वर्गले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन् । पर्यटक भएर कुनै ठाउँमा पुग्नु भनेको त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन लिनु हो । पहिले आफूले आफ्नो देश चिन्नुपर्छ, अनिमात्रै विदेशीलाई चिनाउन सकिन्छ । मालिकालाई साँची राखेर भनौँ यहा मान्छेको गरेको जादुभन्दा प्रकृति स्वयंले रचेको, कमैले देखेको र आजसम्म नलेखेको कहानी छ । गाईखर्क ताल, खोरिया दह र देउताभिर गुफा, हिमाल हेर्न आउ, मज्जले ट्रेकिङ्ग गर र अगार्निक जीवनको स्वास फेर भनेर प्रचार–प्रसार गर्न संगै घुमौं, फोटो–भिडियो खिचौं, सेयर गरौं र अरुलाई पनि घुम्न प्रेरित गरौं ।