Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
नानी बिवुका पाँच मुक्तकहरू – Sarangi News

मुक्तक १ ( देशप्रेम )

नैतिकता, मानवता  इमान्दारिता आदि सबैसबै गुमाएपछि

धर्म, संस्कार, संस्कृति, स्वाभिमान रहेन केही डलर पाएपछि

हरेक उत्सव दियो बालेर होइन केक काटेर थालिन्छ, अचेल

के-के भएन र देशमा सङ्घीयता र धर्मनिरपेक्षता आएपछि ।

 

मुक्तक २ (समसामयिक )

पछाडिबाट ढाड सेकियो उही गरिबको  मुटुमा छुरा कोपियो

हिजो छोरी दिन लाग्दा कति दिन सक्छौ दाइजो सोधियो

संस्कृतिको नाममा यो कस्तो विकृति आयो हे भगवान्

सालीसँग जुत्ताको मोल नमिलेर आज छोराको बिहे रोकियो ।

 

मुक्तक ३ (शङ्गारिक )

फक्रेको फूल तिम्रो जोबन मेरो के दोष ?

म पनि त बैंसको तन्नेरी झन् मेरो के दोष ?

बैँसालु बासना छर्दै हिँड्छ्यौ तिमी अनि

उठ्छ मनमा तरङ्ग अनेकन मेरो के दोष ?

 

मुक्तक ४ (अन्य )

दिन रात नभनी खटिएर के-के गर्नुभएको होइन र ?

चुनावको बेला मरिमेटेर लागि पर्नुभएको होइन र ?

जितेपछि आफ्नै भुँडी भरे भन्दै के गर्नुहुन्छ गुनासो ?

बिर्सनु भो ? जित्नु अघि त तपाईकै भुँडी भर्नुभएको होइन र ? 

 

मुक्तक ५ (अन्य )

आँखा रसाउँछ साह्रै मन  दुखेर आउँछ  साँच्चै भन्नु पर्दा

सबथोक गर्न सक्छु तर पनि अरूको नजरमा अपाङ्ग बन्नु पर्दा

चाहेजस्तो वर पाउन सकिन, घरबार बसाउन सकिन

देखेनन् कयौँ सफलता मेरा कमजोरी एउटै थियो गन्नु पर्दा ।

 

दुराडाँडा, लमजुङ हाल गैंडाकोट नवलपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP