प्रकट पगेनी ‘शिव’लाई गीतकार सम्मान – Sarangi News

पोखरा । गीतकार प्रकट पगेनी ‘शिव’ गीतकार सम्मान-२०७९ बाट सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिक साधारण सभाका अवसरमा पगेनीलाई सम्मान गरेको हो ।

नगद ५ हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मान पत्र रहेको उक्त सम्मान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ र संस्थाका अध्यक्ष हरिहर खनियाले संयुक्त रूपमा पगेनीलाई प्रदान गरे । सम्मान ग्रहण गरेपछि पगेनीले साहित्यका विभिन्न विधामा कलम चलाए पनि आफ्नो सर्वप्रिय विधा गीत नै भएको जनाए । सम्मानले गीतमै समर्पित हुन थप हौस्याएको भन्दै निकट भविष्यमै ‘आउँदा-जाँदा दोबाटोमा’ नामक गीत सङ्ग्रह प्रकाशन गर्ने तयारीमा लागेको उनले बताए । उनको यसअघि ‘जूनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक २ गीत सङ्ग्रह प्रकाशित छन् । यसका साथै प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् । पगेनीको स्रष्टा परिचय प्रतिष्ठानकै सहसचिव रुपिन्द्र प्रभावीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सरुभक्तले जुनसुकै विधामा कलम चलाए पनि समाजलाई सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । साहित्यका अन्य विधामा जस्तै गीत गरिने ‘प्रयोग’ स्वीकार्य हुनुपर्ने भन्दै उनले गीतको क्षेत्र व्यापक रहेको बताए । नेपाली गीति साहित्यको मौलिकता लोकगीतमै रहेको भन्दै उनले कसैले बनाएको निश्चित ‘फर्म्याट’मा मात्रै गीत लेखिनुपर्ने मान्यताबाट माथि उठ्नुपर्ने बताए ।

साहित्यकार तीर्थ श्रेष्ठले आजको समयमा पनि गीतकारले दामका कुरा छोडौँ, नाम नै माग्नुपर्ने अवस्था रहनु बिडम्बना रहेको धारणा राखे । गीतको जननी गीतकार नै भएको भन्दै कुनै गायक/गायिकाको नाम लिएर तिनकै गीत भनिने प्रचलनप्रति असन्तुष्टि राखे । गायक/गायिकाले मञ्चमा गायन प्रस्तुत गरेबापत पाएको पारिश्रमिकको केही अंश गीतकार र सङ्गीतकारलाई पनि दिनुपर्ने उनको माग थियो । गीतकारहरूले पनि गीत रेकर्डका लागि कसैको पाउ पर्ने प्रवृत्तिबाट टाढिएर स्वाभिमानपूर्वक लेखनमा लाग्नुपर्नेमा उनको जोड थियो । गीत गेय विधा भए पनि वाचनकै माध्यमबाट पनि दर्शक/स्रोतालाई रसास्वादन गराउन सकिने भनाइ उनले राखे । स्मरण रहोस्, नेपालमै पहिलो पटक गीतकार प्रतिष्ठानले श्रेष्ठको एकल गीत वाचन सम्पन्न गरिसकेको छ ।

प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अनुराग अधिकारीले प्रस्तुत गरेका प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । कार्यक्रममा आँबुखैरेनी वाङ्‍मय परिषद्‍का अध्यक्ष अनिल श्रेष्ठ, गीतल प्रतिष्ठान तथा नाटक मञ्च, तनहुँका अध्यक्ष आकाश अधिकारी, कलाकार कृष्ण मर्सानी, मनु शर्मालगायतले शुभकामना दिएका थिए । सोही अवसरमा ३० जनालाई आजीवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । उपाध्यक्ष शीतल गिरीको स्वागत र सचिव अनुराग अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

 ‘युके बस्ने दाइ’ लिएर आइन् गायिका शान्ति (भिडियो)

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई


TOP