Trend
साउनको अन्तिम सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुईचो, दान २ लाख ३२ हजार ३ सय २४ उठ्यो।  ||   पोखरामा पठन संस्कृतिसम्बन्धी विद्यार्थी सम्मेलन  ||   इशानेश्वर महादेव मन्दिरमा साउन महिनाको अन्तिम सोमबारमा भक्तनजहरुको घुईचो(फोटो फिचर)  ||   लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग  ||   साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||  
मंगलबार , साउन २८, २०८२
ज्योति जङ्गलको कविता सङ्ग्रह ‘आधा शिर उचालेर’को पोखरामा चर्चा – Sarangi News

पोखरा । कवि ज्योति जङ्गलको नवीनतम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ ।
कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ज्योतिले कवितामा जीवन र जगत् लेखेकी बताए । नारी जीवनका उतारचढावको कलात्मक चित्रण कृतिमा गरिएको बताउँदै डा. अधिकारीले समाजले नारीप्रति गरेको नकारात्मक व्यवहारप्रति शालीन विद्रोह कविताले गरेको भनाइ राखे । “सरलता, सघनता र त्यसमा मिसिएर आउने भावनाको तीव्रता, शैली र शिल्पगत मौलिकता र अनुभूतिजन्य गहनता उनका कविताका प्राप्ति हुन्” अधिकारीले भने, “ आधा शिर उचालेर राम्रो कविता सञ्चयन हो ।”
अर्का समीक्षक ¥याण्डम रिडर्स सोसाइटीका सदस्य नेपाल प्रकाश अधिकारीले ‘आधा शिर उचालेर’ कृति कविताको सुन्दर घर भएको धारणा राखे । कविताको घरमा भएका अनेकौँ झ्याल, ढोकाहरूबाट फरक फरक दृश्य देख्न सकिने भन्दै अधिकारीले भने, “त्यही घर बनाउनका लागि कुर्बानी गरेका कैयौँ दिदी, बहिनी, भाउजू र आमाहरूको जीवनमा आएका अवरोधप्रति विद्रोहको प्रस्तुति कवितामा आएका छन् ।”
“नारीप्रति परिवार र राज्यले गरेको विभेद कविताको मूल विषय हो भने विद्रोह यसको मूल स्वर हो” समीक्षक अधिकारीले भने, “उनका थुप्रै कविता नारी मुक्तिको कामनासहित नारीकै पक्षबाट लेखिएका छन् तर संयमित भएर, उनका कवितामा उग्र नारीवाद भने छैन ।” निजात्मक मौलिकता र भावगत तीक्ष्णता भेटिने यस कृतिले ज्योतिलाई विशिष्ट पहिचान दिने उनको ठम्याइ थियो ।
कविता क्लबका संस्थापक अध्यक्ष कवि रमेश श्रेष्ठले कवितालाई कविले जीवनलाई जत्तिकै माया गर्नुपर्नेमा जोड दिए । कविताले जीवन जिउन मात्रै होइन, कलात्मक मृत्यु मर्नसमेत सिकाउने उनको मत थियो । समकालीन पुस्ताकी सशक्त कविका रूपमा ज्योतिलाई आफूले चिनेको उनले बताए ।


कवि ज्योति जङ्गलले कवितालाई समाजसँग जोडेर लेख्ने प्रयास गरेको अनुभव सुनाइन् । उनले कवितालाई सस्तो सामान बन्नबाट जोगाउनका लागि आफू सधैँ प्रयत्नशील रहेको भन्दै समाजमा सबै वर्गका मानिसलाई पूरा शिर उचालेर बाँच्ने परिस्थितिको सिर्जना होस् भन्ने चाहना कवितामा प्रस्तुत गरेको बताइन् । पोखरामा आफ्नो नयाँ कृतिको पहिलो परिचर्चा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले प्राप्त सुझावहरूलाई आत्मसात् गरी आगामी दिनमा लेखन यात्रा अघि बढाउने धारणा राखिन् ।
विराटनगरकी स्थायी वासिन्दा कवि जङ्गलको यसअघि ‘पहाडको मन’ र ‘मुक्त समय’ गरी २ कविता सङ्ग्रह, ‘अक्षरमा तिमी’ गजल सङ्ग्रह तथा ‘छाया’ कथा सङ्ग्रह प्रकाशित छन् । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कृतिमा ४३ ओटा कविता सङ्गृहीत छन् ।
कविता क्लबका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार रुपिन्द्र प्रभावीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP