नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानद्वारा श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत – Sarangi News

पोखरा । अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यस वर्ष साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार प्रतिष्ठानले अग्रज साहित्यकारहरुलाई प्रदान गर्दै आएको छ । गतवर्ष यस पुरस्कारबाट लेखकद्वय शारदा सुब्बा र बिना थिङ पुरस्कृत भएका थिए । २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो ।

अमर नेम्बाङ लिम्बुको चौथो स्मृतिदिवसको अवसरमा प्रदान गर्न लागिएको सम्मान पुरस्कारसँगै आगलागी र पहिरो पीडितलाई राहत वितरण र गरिब तथा जेहेन्दार छात्रवृत्ति वितरण कार्यक्रम पनि आयोजना हुनेछन् । कार्यक्रम यही माघ २६ गते, बिहीबार फिदिम-१ स्थित होटल मनश्वी, बुद्धमार्गमा बिहान १०:३० बजे आयोजना हुने जानकारी प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले दिएका छन् ।

अमर नेम्बाङको परिचय:
अमर नेम्बाङ नेपाली साहित्यका एक विशिष्ट स्रष्टा हुन् । उनी पर्यावरणीय लेखनका अभियन्ता थिए । उनको संस्मरणात्मक निबन्धहरूको सँगालो ‘सम्झनाका तरेलीहरू’मा यस लेखनको उत्कृष्ट प्रयोग पाइन्छ । योसँगै उनका ‘अमेरिका भ्रमणका केही सम्झनाहरू’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ कविता कृति प्रकाशित छन् । उनका दर्जनौँ लेख, संस्मरण, निबन्ध र कविता अप्रकाशित अवस्थामा छन् । नेम्बाङले पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका थिए ।

नेम्बाङको जन्म वि.सं.१९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बाबु नयेन्द्रराज (नरवीर) नेम्बाङ र आमा श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको कोखबाट माइला छोराको रूपमा भएको थियो । आफ्नै गाउँको सारताप स्कुलबाट अध्ययन सुरु गरेका नेम्बाङले सन्त रोबर्टस उच्चमावि दार्जिलिङबाट १९६१ मा हाइस्कुल पास गरेका थिए र सन्त जोसेफ कलेज नर्थप्वाइन्ट दार्जिलिङबाट १९६६ मा बिए सकेका थिए । १९६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका नेम्बाङ पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् ।

२०३३ सालमा जनपक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँ पञ्चायतको नेतृत्व सम्हालेका नेम्बाङ पटकपटक तत्कालीन पौवासारताप गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

नेम्बाङले स्थानीय तहबाट देशभरमा पहिलोपटक मातृभाषा शिक्षा पठनपाठनलाई आधारभूत तथा माध्यमिक विद्यालयमा सञ्चालन गरेका थिए ।

गाँउपालिकाको वडा नं ५ ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा २०७५ साल माघ २६ गते हृदयाघातका कारण नेम्बाङको निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP