जयलाई गजल प्रतिभा पुरस्कार – Sarangi News

पोखरा । गजलकार जय गौडेल गजल प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित यस वर्षको गजल प्रतिभा पुरस्कार–२०७९ गजलकार गौडेललाई शनिबार पोखरामा आयोजित एक कार्यक्रममा प्रदान गरिएको हो ।

पुरस्कार अर्पण समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली साहित्यमा गजल स्थापित भइसकेको धारणा राखे । उनले गजलका धारमा भन्दा बढी सारमा ध्यान दिन गजलकाहरूलाई आग्रह गरे । साहित्यकारको हृदय अरूको भन्दा विशाल हुनुपर्नेमा जोड दिँदै सरुभक्तले कित्तामा बाँडिएर नभई सबै मिलेर गजलको उत्थानमा लाग्नुपर्ने बताए ।

पुरस्कृत प्रतिभा जय गौडेलले आफूले गजललाई सक्रियतापूर्वक निरन्तरता दिन नसकेको अवस्थामा पनि गजल प्रतिभा पुरस्कार पाउँदा नवजागरको सन्देश लिएको बताए । उनले यस पुरस्कारले डायरीमा थन्केर रहेका गजलहरूलाई पुस्तकका रूपमा प्रकाशन गर्ने उत्साह थपेको भन्दै छिटै नयाँ सङ्ग्रहको तयारीमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिभा छनोट समितिका संयोजक दीपक समीपले गजलकार गौडेललाई गण्डकी प्रदेशको एक सशक्त गजलकार रूपमा पुरस्कार प्रदान गरिएको बताए । छनोट समितिका सदस्य रुपिन्द्र प्रभावीले जय जस्तो योग्य प्रतिभालाई पुरस्कृत गर्न पाउँदा स्वयम् संस्था नै पुरस्कृत भएको बताए ।

सन्ध्याका पूर्वअध्यक्षहरू दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजलकार गौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय सन्ध्याले गरेको थियो ।

स्याङ्जाको अर्जुनचौपारीमा वि. सं. २०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ गजल सङ्ग्रह प्रकाशित छ ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय मन क्षेत्री र उदिपराज ढुङ्गानालगायतले शुभकामना दिएका थिए । सन्ध्याका अध्यक्ष वसन्त विनोदनको अध्यक्षता तथा पूर्व अध्यक्ष कपिल शर्माको सञ्चालनमा भएको कार्यक्रममा गजल सन्ध्याको नियमित गजल वाचनसमेत गरिएको थियो ।

नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको सो पुरस्कार एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान भनेर अर्पण गरिँदै आएको छ । यसअघि सो पुरस्कारबाट रूपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर.के. अदीप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी, बाबु त्रिपाठी र निरज भट्टराई पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP