Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
जयलाई गजल प्रतिभा पुरस्कार – Sarangi News

पोखरा । गजलकार जय गौडेल गजल प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।

समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित यस वर्षको गजल प्रतिभा पुरस्कार–२०७९ गजलकार गौडेललाई शनिबार पोखरामा आयोजित एक कार्यक्रममा प्रदान गरिएको हो ।

पुरस्कार अर्पण समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली साहित्यमा गजल स्थापित भइसकेको धारणा राखे । उनले गजलका धारमा भन्दा बढी सारमा ध्यान दिन गजलकाहरूलाई आग्रह गरे । साहित्यकारको हृदय अरूको भन्दा विशाल हुनुपर्नेमा जोड दिँदै सरुभक्तले कित्तामा बाँडिएर नभई सबै मिलेर गजलको उत्थानमा लाग्नुपर्ने बताए ।

पुरस्कृत प्रतिभा जय गौडेलले आफूले गजललाई सक्रियतापूर्वक निरन्तरता दिन नसकेको अवस्थामा पनि गजल प्रतिभा पुरस्कार पाउँदा नवजागरको सन्देश लिएको बताए । उनले यस पुरस्कारले डायरीमा थन्केर रहेका गजलहरूलाई पुस्तकका रूपमा प्रकाशन गर्ने उत्साह थपेको भन्दै छिटै नयाँ सङ्ग्रहको तयारीमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिभा छनोट समितिका संयोजक दीपक समीपले गजलकार गौडेललाई गण्डकी प्रदेशको एक सशक्त गजलकार रूपमा पुरस्कार प्रदान गरिएको बताए । छनोट समितिका सदस्य रुपिन्द्र प्रभावीले जय जस्तो योग्य प्रतिभालाई पुरस्कृत गर्न पाउँदा स्वयम् संस्था नै पुरस्कृत भएको बताए ।

सन्ध्याका पूर्वअध्यक्षहरू दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजलकार गौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय सन्ध्याले गरेको थियो ।

स्याङ्जाको अर्जुनचौपारीमा वि. सं. २०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ गजल सङ्ग्रह प्रकाशित छ ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय मन क्षेत्री र उदिपराज ढुङ्गानालगायतले शुभकामना दिएका थिए । सन्ध्याका अध्यक्ष वसन्त विनोदनको अध्यक्षता तथा पूर्व अध्यक्ष कपिल शर्माको सञ्चालनमा भएको कार्यक्रममा गजल सन्ध्याको नियमित गजल वाचनसमेत गरिएको थियो ।

नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको सो पुरस्कार एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान भनेर अर्पण गरिँदै आएको छ । यसअघि सो पुरस्कारबाट रूपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर.के. अदीप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी, बाबु त्रिपाठी र निरज भट्टराई पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP