Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
शिवालयमा शिक्षकलाई ४० हजार रुपैयाँ नगदसहित सम्मान – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्य गरेका एक शिक्षकलाई नगद रु. ४० हजार रुपैयाँसहित सम्मान गरी बिदाइ गरिएको छ ।
शुक्रबार विद्यालयमा आयोजित शिक्षक बिदाइ तथा सम्मान कार्यक्रममा झण्डै १७ वर्षसम्म निजी स्रोतमा रही कार्य गरेका शिक्षक सुकबहादुर थापालाई विद्यालयले नगदसहित सम्मान गर्दै बिदाइ गरेका हो । २०६२ देखि विद्यालयमा कार्य गरेका उनले उमेर हदका कारण गत फागुन १ गतेदेखि स्वैच्छिक अवकाश लिएका थिए । उनले विद्यालयमा कार्यरत रहँदा गरेको योगदानको कदर गर्दै नगदसहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले जानकारी दिए ।
उनीसँगै शिक्षिकात्रय बिना तिमल्सेना, पार्वती श्रेष्ठ र सङ्गीता ओझालाई पनि सम्मानसहित बिदाइ गरिएको थियो । तिमल्सेना र ओझा शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकमा सिफारिस भएकाले र श्रेष्ठको सरुवा भएकाले विद्यालयबाट बिदाइ गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयको चौतर्फी विकासका लागि बिदाइ भएर गएका शिक्षकहरूले गरेका योगदानको प्रशंसा गरे । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले आफू अध्यक्ष हुँदा विद्यालयको विकासका लागि गरिएका प्रयासहरूमा सबैले होस्टेमा हैँसे गरेको स्मरण गरे ।
कार्यक्रममा बिदाइ भएर जाने शिक्षकहरूले विद्यालयले प्रविधिमैत्री ढङ्गले सञ्चालन गरेको सिकाइ सहजीकरण प्रक्रिया जहाँ गए पनि बिर्सन नसक्ने धारणा राखेका थिए । उनीहरूले शिक्षकको क्षमता वृद्धि र उत्प्रेरणामूलक कार्यमा विद्यालयले गरेको सहयोगले जुनसुकै ठाउँमा गएर पनि शिर ठाडो गर्न सकिने परिस्थिति सिर्जना गरेको स्मरण गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, पूर्व प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक–अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ता तिमल्सेना, शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालगायतले बिदाइ भएर जाने शिक्षकहरूलाई बधाई र शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP