शिवालय माविमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ ।
राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रशिक्षक प्रकाश देवकोटाले सहजीकरण गरेका थिए । उनले बालविकास कक्षादेखि कक्षा १२ सम्मका सबै विषयका लागि आवश्यक सामग्री निर्माणसम्बन्धी सिपमा आधारित कार्यशाला सञ्चालन गरेका थिए । शिक्षकले आधारभूत ज्ञान र सिप हासिल गरेपछि विद्यार्थीहरूलाई नै प्रयोग गरेर शैक्षणिक सामग्री निर्माण गर्नुपर्नेमा देवकोटाले जोड दिए । पाठ्यपुस्तकका आधारमा मात्र होइन, शैक्षणिक सामग्रीका आधारमा अध्यापन कार्य गर्ने हो भने सिक्दिनँ भन्ने विद्यार्थीले पनि थाहै नपाई सिक्न सक्ने भन्दै देवकोटाले शैक्षणिक सामग्रीबिना कक्षाकोठामा नजान शिक्षकहरूलाई आग्रह गरे । कार्यशालाको दोस्रो दिन विषयगत समूहमा निर्मित सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो ।
सैद्धान्तिक पढाइभन्दा माथि उठेर सिकाइ सहजीकरण गर्नका लागि तालिमबाट प्राप्त ज्ञान र सिपले ठुलो भूमिका खेल्ने सहायक प्रधानाध्यापक ऋषिराम ओझाले धारणा राखे । आफूले लिएका तालिममध्ये सम्झनलायक तालिम यस पटक लिन पाएको आधारभूत तह इनचार्ज विश्वनाथ सुवेदीले प्रतिक्रिया दिए । तालिम अत्यन्तै उपयोगी भएकाले यसलाई अन्य सरकारी निकायले पनि निरन्तरता दिनुपर्ने अङ्ग्रेजी विभागका संयोजक बुद्धिराम विश्वकर्माले बताए । उनले आफ्नो जीवनकै सर्वाधिक प्रभावकारी तालिमका रूपमा कार्यशालालाई चित्रण गरे ।
राइट फर चिल्ड्रेनकी शिक्षा अधिकृत मञ्जुकुमारी थापाले संस्थाले पनि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरेकाले कस्तो होला भन्ने लागेको अवस्थामा कल्पना गरेभन्दा राम्ररी तालिम सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । उनले संस्थालाई प्राप्त प्रस्तावनाहरूमध्ये शिवालयको प्रस्तावना फरक खालको भएकाले स्विकृत गरिएको बताइन् । आगामी दिनमा पनि फरक खालको तर उपयोगी कार्यक्रमहरूमा सहकार्य गर्न संस्था तयार रहेको थापाको भनाइ थियो ।
यसअघि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सकेसम्म गाउँपालिकाको सहयोगमा र नभए विद्यालयले अन्य स्रोत जुटाएर भए पनि यस वर्ष शैक्षिक प्रदर्शनी गरिने जानकारी दिए ।
विद्यालयले हालै अङ्ग्रेजी माध्यमको सिकाइ सहजीकरण सिप विकाससम्बन्धी पाँचदिने तालिम सम्पन्न गरेको थियो । सो तालिम विद्यालयमै गठित अङ्ग्रेजी विभागको संयोजनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP