Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
सोमबार , साउन १८, २०८३
अनुपमको उद्घोषण तालिम द्विशतक शृङ्खलामा – Sarangi News

पोखरा । अनुपम म्युजिक पोखराले आफ्नो तालिमको २०० औँ शृङ्खला सम्पन्न गरेको छ ।
२०६७ सालदेखि औपचारिक रूपमा साङ्गीतिक गतिविधि र उद्घोषण तथा भाषणकलासम्बन्धी तालिम सञ्चालन गर्दै आएको संस्थाले त्यसअघि २०६२ देखि अनौपचारिक रूपमा यस्ता गतिविधि सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए । २०० औँ शृङ्खला सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले आफूले तालिमको पहिलो शृङ्खला उद्घाटन गरेदेखि हालसम्म अनुपमले गरेका कार्यक्रमबाट आफू निकै प्रभावित भएको अनुभव सुनाए । उनले तालिमबाट पोखरा र आसपासका मूर्धन्य व्यक्तिहरू प्रशिक्षित भएको प्रत्यक्ष देख्न पाउँदा गौरव पनि लागेको उनको भनाइ थियो । “एउटै संस्थाबाट अहिलेसम्म १० हजारभन्दा बढी व्यक्ति प्रशिक्षित हुनु सामान्य कुरा होइन” सरुभक्तले भने, “प्रशिक्षित व्यक्तिहरूले समाजमा कैयौँ उदाहरणीय कार्यहरू गरेका होलान्, तिनका माध्यमबाट समाज लाभान्वित भएका होलान् । त्यसले मलाई निकौ खुसी तुल्याएको छ ।”
कार्यक्रमका विशेष अतिथि हिसान, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा न्यु ग्यालेक्सी माविका प्रिन्सिपल डा. रामजी शर्माले विद्यार्थीदेखि उद्योगी र राजनीतिक नेतृत्वसम्मका व्यक्तिका लागि पनि अनुपमले तालिम दिनु चानचुने कुरा नभएको धारणा राखे । आफ्नो क्षेत्रबाट अनुपमले गरेको योगदानको मूल्याङ्कन नेपाली समाजले पक्कै गर्ने विचार उनको थियो ।
कार्यक्रमका अध्यक्ष अनुपम म्युजिक पोखराका संरक्षक तथा तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रमान पालिखेले अनुपमले सञ्चालन गरेका हरेक गतिविधिमा तीर्थहरि स्मृति प्रतिष्ठानको साथ रहँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि सामाजिक र साङ्गीतिक गतिविधिहरूमा सधैँ साथ दिने प्रतिबद्धता दोहो¥याए ।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले हालसम्मको साथका लागि सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी आर्थिक वर्षदेखि तालिमलाई थप व्यवस्थित र प्रविधिमैत्री ढङ्गले अघि बढिने जानकारी दिए । अनुपममा एक पटक प्रशिक्षार्थीका रूपमा जोडिएपछि आवश्यक तालिम अन्य जुनसुकै समयमा पनि निःशुल्क लिन सकिने सुविधा रहेको उनले जानकारी दिए ।
कार्यक्रममा गायक रामभक्त जोजिजू, गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, ब्लु बर्ड कन्सल्टेन्सीका निर्देशक विष्णुप्रसाद अधिकारीले शुभकामना दिएका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरू विविषा पौडेल, विपासा कार्की, स्वच्छिका त्रिपाठी, आस्था भण्डारी, कल्पित नेपाल, अरविन भण्डारी, सीता अधिकारी, हिरा बरुवाल, रमा खड्कालगायतले आफ्ना अनुभव सुनाएका थिए ।
सोही अवसरमा पछिल्लो समय सञ्चालित तालिमका ३० जना सहभागीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी अमिसा गुरुङले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP