Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
लघुकथाः चोखो पानी – Sarangi News
“जातीय भेदभाव चाहिँदैन । अपमान गर्न पाइँदैन ।” नारी दिवसका दिन रामकुमारीले घोक्रो फुलाउँदै नारा लगाइन् । झन्डा बोकेर पछि पछि लाग्नेले पनि सँगसँगै फलाके, “…….चाहिँदैन, चाहिँदैन ………… पाइँदैन, पाइँदैन ।”
रामकुमारीले भाषणमा समेत भन्न भ्याइन्– “अहिले हाम्रो समाजमा कुरीति, अन्धविश्वास, सङ्कीर्णताले जरो गाडेको छ । तपाईं हामी सबै मिलेर यो बेथितिको जालो फाल्नुुपर्छ ।”
××××× ××××× ×××××
सुन्तली परियारलाई आश्चर्य र खुसी पनि लाग्यो । छिमेकी बाहुनी दिदीले त गजबै बोल्दिरहिछन् । राति निद्रा नलागिन्जेल उनकै नारा र भाषण सुन्तलीका कानमा गुन्जिरह्यो ।
××××× ××××× ×××××
राति धेरै बेरसम्म के के सोचेर सुन्तली सुतिरहिन् । बिहान उठ्दा ढिलो भएछ । हत्त न पत्त उठेर गाग्री लिएर सार्वजनिक धारामा पानी थाप्न गइन् । रामकुमारी पनि पानी थाप्दै रहिछन् । रामकुमारीलाई देखेर सुन्तलीले मुसुक्क हाँस्दै भनिन्– “ए, दिदी पनि पानी थाप्न आउनुभएको रहेछ ।”
रामकुमारी भन्दै थिइन्– “अँ त नि, बरु एकछिन यता नआइज है सुन्तली ?”
“किन त नि दिदी ?” सुन्तलीले अरु प्रश्न सोध्न भ्याउँदा नभ्याउँदै काखीमा पानीको गाग्री च्याप्दै रामकुमारीले भनिन्– “बिहान पूजा गर्न चोखो पानी चाहिएथ्यो र आएकी म त । गएँ है ….”
*********************
कृपया यो लिङ्क पनि हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध छ ।
२०८०/०५/१२
लमजुङ, भोर्लेटार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP