Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
‘यादको कोलाज’को पोखरामा गृहलोकार्पण – Sarangi News

पोखरा, भदौ २३ । लेखक अमृत क्षेत्रीको दोस्रो कृति ‘यादको कोलाज’को पोखरामा गृहलोकार्पण सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले पोखरामा आयोजित एक समारोहमा कृतिको गृहलोकार्पण गरे ।
लोकार्पण कार्यक्रममा प्रमुख अतिथीय मन्तव्य व्यक्त गर्दै सरूभक्तले विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा प्रवेश गर्दा साहित्य निकै बलियो बन्ने कुरा बताउनुभयो । उहाँले अमृतको काव्यिक लेखन निकै गहन रहेको र आगामी दिनमा राम्रा कृति पस्कने उच्च सम्भावना बोकेर उपस्थित भएको उल्लेख गर्नुभयो । लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो रहेको र अमृतको आगमनपछि पोखराबाट नेपाली साहित्यले पनि लाहुरे जीवनलाई प्रवेश गराएको बताए । नेपाली साहित्यमा विभिन्न क्षेत्रबाट लेखकहरू प्रवेश गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
पुस्तकमाथि समीक्षा राख्दै जीवनसागर भण्डारीले कृतिमा लाहुरे जीवनको प्रतिबिम्ब उतारिएको बताए । लाहुरे जीवनमा रहेको कडा अनुशासनको कारुणिक वर्णन गरिएको सुनाए । लाहुरे जीवनका भर्ती, तालिम, छुट्टी, युद्ध, प्रेम आदि सबै पक्ष समेटी बाह्रओटा शीर्षकमा पुस्तक समेटिएको उनले उल्लेख गरे । प्रकृतिको उदात्त वर्णन कृतिभरि भेटिने उनले बताए । उनले भने – ‘काव्यात्मक भाषाशैलीमा जीवनका भोगाइ र जीवन, जगत्, वस्तु र सत्यलाई फरक तरिकाले व्याख्या गर्ने काम लेखक अमृतले गरेका छन् ।’ युद्धमा व्यस्त लाहुरेले प्रकृतिप्रेमको वर्णन कसरी गर्न सक्छ भन्ने कुराका लागि यादको कोलाज कृति पढ्नुपर्ने उनको ठम्याइ थियो । सरल काव्यिक भाषामा कृति पस्केका अमृतले हरेक शीर्षकको थालनीमा प्रस्तुत गरेको जीवनदर्शन गहन रहेको समेत उल्लेख गरे । यद्यपि कृतिमा लाहुरे जीवनका अन्य गहन पक्षहरूका नखुलेका पाटाहरू रहेको महसुस पाठकले गर्ने बताउँदै आउँदो संस्करणमा त्यसको गम्भीर पक्षलाई समेट्न लेखकलाई सुझावसमेत दिए ।
लेखक अमृतले आफ्नो साहित्यलेखनमा रुचि सानैदेखि रहेको र विषयहरूले नै लेखाउँदै लगेको विचार व्यक्त गरे । सबैको मायाले लेखनतर्फ थप हौसला मिलेको उनको भनाइ थियो ।
कार्यक्रममा विश्लेषक विश्व सिग्देल, कवि रीता अधिकारी ‘ऋतु’, पुछारसिटे अभियानका सल्लाहकार लक्ष्मण थापा, माया पब्लिकेसनका प्रबन्ध निर्देशक विनय दत्तलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अभियन्ता मोहन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा अभियानका संयोजक सञ्जीव पौडेलले लेखक अमृतका बारेमा लेखक परिचय प्रस्तुत गरेका थिए भने अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP