‘यादको कोलाज’को पोखरामा गृहलोकार्पण – Sarangi News

पोखरा, भदौ २३ । लेखक अमृत क्षेत्रीको दोस्रो कृति ‘यादको कोलाज’को पोखरामा गृहलोकार्पण सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले पोखरामा आयोजित एक समारोहमा कृतिको गृहलोकार्पण गरे ।
लोकार्पण कार्यक्रममा प्रमुख अतिथीय मन्तव्य व्यक्त गर्दै सरूभक्तले विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्वहरू साहित्य क्षेत्रमा प्रवेश गर्दा साहित्य निकै बलियो बन्ने कुरा बताउनुभयो । उहाँले अमृतको काव्यिक लेखन निकै गहन रहेको र आगामी दिनमा राम्रा कृति पस्कने उच्च सम्भावना बोकेर उपस्थित भएको उल्लेख गर्नुभयो । लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो रहेको र अमृतको आगमनपछि पोखराबाट नेपाली साहित्यले पनि लाहुरे जीवनलाई प्रवेश गराएको बताए । नेपाली साहित्यमा विभिन्न क्षेत्रबाट लेखकहरू प्रवेश गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
पुस्तकमाथि समीक्षा राख्दै जीवनसागर भण्डारीले कृतिमा लाहुरे जीवनको प्रतिबिम्ब उतारिएको बताए । लाहुरे जीवनमा रहेको कडा अनुशासनको कारुणिक वर्णन गरिएको सुनाए । लाहुरे जीवनका भर्ती, तालिम, छुट्टी, युद्ध, प्रेम आदि सबै पक्ष समेटी बाह्रओटा शीर्षकमा पुस्तक समेटिएको उनले उल्लेख गरे । प्रकृतिको उदात्त वर्णन कृतिभरि भेटिने उनले बताए । उनले भने – ‘काव्यात्मक भाषाशैलीमा जीवनका भोगाइ र जीवन, जगत्, वस्तु र सत्यलाई फरक तरिकाले व्याख्या गर्ने काम लेखक अमृतले गरेका छन् ।’ युद्धमा व्यस्त लाहुरेले प्रकृतिप्रेमको वर्णन कसरी गर्न सक्छ भन्ने कुराका लागि यादको कोलाज कृति पढ्नुपर्ने उनको ठम्याइ थियो । सरल काव्यिक भाषामा कृति पस्केका अमृतले हरेक शीर्षकको थालनीमा प्रस्तुत गरेको जीवनदर्शन गहन रहेको समेत उल्लेख गरे । यद्यपि कृतिमा लाहुरे जीवनका अन्य गहन पक्षहरूका नखुलेका पाटाहरू रहेको महसुस पाठकले गर्ने बताउँदै आउँदो संस्करणमा त्यसको गम्भीर पक्षलाई समेट्न लेखकलाई सुझावसमेत दिए ।
लेखक अमृतले आफ्नो साहित्यलेखनमा रुचि सानैदेखि रहेको र विषयहरूले नै लेखाउँदै लगेको विचार व्यक्त गरे । सबैको मायाले लेखनतर्फ थप हौसला मिलेको उनको भनाइ थियो ।
कार्यक्रममा विश्लेषक विश्व सिग्देल, कवि रीता अधिकारी ‘ऋतु’, पुछारसिटे अभियानका सल्लाहकार लक्ष्मण थापा, माया पब्लिकेसनका प्रबन्ध निर्देशक विनय दत्तलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अभियन्ता मोहन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा अभियानका संयोजक सञ्जीव पौडेलले लेखक अमृतका बारेमा लेखक परिचय प्रस्तुत गरेका थिए भने अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP