दर्शन बुझेपछि अनुयायी भइहाल्नुपर्ने भन्ने हुँदैन: सिग्देल, बिपी जयन्तीमा लेखक संघले सम्झियो प्रदीप गिरी। – Sarangi News

पोखरा । विचार र दर्शन बुझ्दैमा त्यही दर्शनको अनुयायी भइहाल्नुपर्छ भन्ने नभएको कुरा विश्लेषक एवम् चिन्तक विश्व सिग्देलले बताएका छन् । हिजो भदौ २३ गते ११० औँ बीपी जयन्तीका अवसरमा नेपाली लेखक संघ, कास्कीले आयोजना गरेको ‘प्रदीप गिरी: अध्यात्मदेखि माक्र्सवादसम्म’ शीर्षकको कार्यक्रममा सिग्देलले सो विचार व्यक्त गरेका हुन् । बीपी र प्रदीप गिरीलाई सँगसँगै सम्झँदै सिग्देलले प्रदीप गिरीको व्यक्तित्व, अध्ययन र त्यसको गहनताबारे उल्लेख गर्दै गए । गिरी सन्यासी परम्पराका व्यक्तित्व भएको उल्लेख गर्दै त्यसमाथि पनि गृहस्थ सन्यासीका रूपमा उनलाई बुझ्नुपर्ने उल्लेख गरे । ‘व्यक्तित्व, चरित्र, विचार र आचरणले पनि गिरी एक फकिर हुन्’ उनले भने । फकिर चरित्रको अराजक व्यक्ति हुँदाहुँदै पनि उनको असाधारण बौद्धिकता काङ्ग्रेसलाई आवश्यक भएकाले मात्रै उनी काङ्ग्रेसमा अटाइरहन सम्भव भएको उनको दाबी थियो । विचारमा र कार्यशैलीमा पार्टीभित्र बेलाबेला टकराव भइरहने गिरी पार्टीको ह्वीपसमेत नमान्ने गरेको कुरा विभिन्न उदाहरण दिँदै उनले प्रस्तुत गरे । वर्तमान संविधान प्रजातान्त्रिक संविधान नभएको भन्दै पार्टीको बेवास्ता गर्दै गिरीले हस्ताक्षर नगरेको प्रसङ्गसमेत उनले कोट्याए । गिरी अराजक प्रवृत्तिको हुन सक्नुका पछाडि उनको अध्यात्मको गहन बुझाइ नै प्रमुख कारक रहेको उनले औँल्याए ।
अध्यात्म धर्मभन्दा निकै माथि रहेको र अध्यात्मवादी चिन्तन भएको मानिसले ससानो सम्प्रदायभन्दा पनि सिङ्गो विश्व मानव समुदायलाई आफ्नो जीवनसापेक्ष मान्ने कुरा सिग्देलले बताए । नेपाली माक्र्सवादी भनिनेहरूमा माक्र्सवादको बुझाइ नै निकै कमजोर रहेकोतर्फ सङ्केत गर्दै उनले भने – ‘अध्ययनमा निकै गहिराइसम्म पुग्ने कुरामा गिरीलाई नेपालको अर्को दोस्रो व्यक्तिले आजसम्म भेट्न सकेको छैन ।’ तसर्थ पनि माक्र्सवादको असली अर्थ बुझ्नका लागि विश्वासिलो स्रोतव्यक्तिका रूपमा गिरी स्थापित भएको कुरा उल्लेख गरे । राम्रो प्रजातन्त्रवादी बन्नका लागि पनि माक्र्सवाद एवम् अन्य कम्युनिष्ट विचारधाराको राम्रो ज्ञान हुनु जरुरी भएको मान्यता राख्ने गिरीले माक्र्सवाद मात्रै होइन लेनिन, स्टालिनदेखि लिएर कम्युनिजमका एक एक केस्रा केलाएर अध्ययन गर्न सफल भएको बताए ।
माक्र्सवाद दर्शन भएको तर राजनीतिक चिन्तन नभएको ठहर थियो सिग्देलको । रोजा लक्जेम्बर्गले सर्वहाराको पूणर् अधिकार माग्दा लेनिनले उनलाई गद्दार घोषणा गरेको सन्दर्भ कोट्याउँदै माक्र्सवादका अनुयायीले माक्र्सको चिन्तनको अवमूल्यन गरेको बारेमा गिरीले प्रष्ट धारणा राख्ने गरेको सुनाए । हालको माक्र्सवादी समाजवाद युरो कम्युनिजमको निरन्तर रूप मात्रै भएको उनले सुनाए ।
गिरीको बहुआयामिक व्यक्तित्वका अनेकन पाटा र उनको गम्भीर चिन्तन क्षमतालाई वणर्न गर्न साधारण अध्ययन र सीमित समयमा असम्भव रहेको स्वीकार गर्दै उनले प्रदीप गिरी र उनको क्षमता एवम् जीवनदर्शनबारेको दृष्टिकोण प्रष्ट पार्न लामो अनुसन्धान आवश्यक रहेको सिग्देलले बताए । बी.पीपछि प्रदीप गिरीमा नै उच्च राजनीतिक सुझबुझ र फराकिलो चिन्तन प्रस्तुत भएको पाइने उल्लेख गरे ।
कार्यक्रममा स्याङ्जाबाट पोखरा आइपुगेका साहित्यकार विश्वप्रेम अधिकारीले प्रदीप गिरी र आफूलगायतका साथीहरू वनारसमा रहँदाका रोचक एवम् गहन प्रसङ्गहरू प्रस्तुत गरे । गिरीलाई सुन्न वनारसका गल्लीमा उनी आउँदा गल्लीमा बस्ने प्रायः विद्यार्थी एकजुट हुने गरेको प्रसङ्ग पनि उनले कोट्याए । तत्कालीन टीवाइसिएल गठन हुँदाका समयमा र त्यसपछि एक पत्रिकामा सम्पादकका रूपमा सँगै काम गरेको प्रसङ्ग खोतल्दै अधिकारीले गिरीभित्र रहेको स्वच्छन्दताप्रेमी जीवनको आयामबारे प्रष्ट पारे । केही वर्ष सँगै सक्रिय हुँदाका यादहरू खोस्रँदै अधिकारीले गिरीको वैचारिक निष्ठा निकै महत्त्वपूणर् र अचल रहेको उल्लेख गरे ।
कार्यक्रममा डा. भूमिराज बस्ताकोटी, शिव के.सी., दिपेन्द्र श्रेष्ठ, चिरञ्जीवी शर्मा पौडेल, गीता लामिछाने, डा. लक्ष्मीशरण अधिकारीलगायतले अन्तरक्रियामा सक्रिय सहभागिता जनाएका थिए ।
प्रजातान्त्रिक विचारका अनुयायी एवम् प्रखर वक्ता एवम् चिन्तक प्रदीप गिरीको पहिलो स्मृति दिवस पनि भदौ महिना नै रहेकोले बिपी जयन्तीका अवसरमा प्रदीप गिरीको गहन चिन्तनमाथि केन्द्रित यो कार्यक्रम आयोजना गरिएको सस्ंथाकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले बताइन् । स्मरण रहोस्, नेपाली लेखक सङ्घ, कास्कीले विगतदेखि नै बी पी जयन्तीका अवसरमा बहसमूलक कार्यक्रम सञ्चालन गर्दे आएको छ ।
संस्थाकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्राञ्जलले गरेका थिए भने उपाध्यक्ष कमल पौडेल ‘अथक’ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १७, २०८२ मंगलबार 42 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 159 Views

कास्की आइडलमा टपटेन छनोट

  मंग्सिर ४, २०८२ बुधबार 76 Views

इनासमा ऋषि लामिछाने

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज


TOP