Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
कास्कीका वाङ्‍मयिक संस्थाको परिचय एउटै कृतिमा – Sarangi News

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले कास्कीमा क्रियाशील वाङ्‍मयिक संस्थाको परिचय समेटेर कृति प्रकाशन गरेको छ ।

प्रतिष्ठानद्वारा प्रकाशित कृति ‘चिनारी’ को एक समारोहबिच पोखरामा लोकार्पण गरियो । प्रतिष्ठानले रजतजयन्ती वर्ष २०८० को अवसर पारेर २४१ औं शुभप्रभात काव्यमाला, हेमजाका धरतीपुत्र मुकुन्दशरण उपाध्यायलाई रजतजयन्ती विशेष सम्मान उक्त परिचय कृति लोकार्पण एक साथ गरेको हो ।

कृतिको लोकार्पण गर्दै भाषाविद् प्राज्ञ मुकुन्दशरण उपाध्यायले नेपाली भाषा बिग्रेकोमा चिन्ता व्यक्त गरे । उनले प्रतिष्ठान स्थापनाको २५ वर्षको अवसर पारेर प्रकाशन गरेको चिनारी कृतिलाई आफूद्वारा प्रतिपादित व्याकरणअनुसार प्रकाशन गरेको र रजतजयन्ती विशेष सम्मान अर्पण गरेकोमा आभारसमेत व्यक्त गरे ।

कृतिको समीक्षा गर्दै र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष, साहित्यकार रुपिन्द्र प्रभावीले रजतजयन्ती विशेषाङ्क चिनारीका विविध आयामले यसलाई सदा जीवन्त राख्ने बताए । साथै, उनले नेपाली साहित्यका क्षेत्रमा एक अर्को संस्थाबिच प्रतिस्पर्धात्मक मानसिकता मौलाउँदै गएको बेला प्रतिष्ठानले कास्कीमा क्रियाशील संस्थाका गतिविधिलाई एकै ठाउँमा समेटेर प्रकाशन गर्नु एउटा ऐतिहासिक र अनुकरणीय कार्य भएको धारणा राखे ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले प्रतिष्ठानले आफ्नो रजतवर्षलाई विविध २५ विशेष कार्यक्रमका साथ अगाडि बढाएकोमा सोहीमध्येको एउटा विशेष कार्यक्रम चिनारी प्रकाशन गरेको बताए ।

स्वतन्त्र पत्रकार सङ्घ, कास्कीका अध्यक्ष असफल गौतमले साहित्यकारलाई राज्य मात्र नभएर साहित्यिक सङ्घ/संस्थाले पनि तुच्छ व्यवहार गरिरहेको अवस्थामा प्रतिष्ठानद्वारा भएका पछिल्लो गतिविधिले आशाको दियो पिल्पिलाएको बताए ।

उपाध्यक्ष सुनिल गायकले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानले आयोजना गरेको पोखरामा क्रियाशील साहित्यिक संघसंस्थाबिचको अन्तर्क्रियाको उपहार चिनारी भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्याय, निवर्तमान अध्यक्ष छन्दमणि त्रिपाठी, सचिव परशुराम अधिकारीलगायतले प्रतिष्ठानको थप प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा लघुकथा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्त, साहित्यकार आवाज शर्मा, वसन्त चालिसे, चन्द्रावती वाग्लेले रचनावाचन गरेका थिए । प्रतिष्ठानले आफ्नो स्थापना दिवसको रजत वर्षलाई २५ वर्ष २५ कार्यक्रम गर्ने अभियानसहित मनाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP