झण्डै ५० वर्षका मुक्तक ‘सरुभक्तका मुक्तक’मा – Sarangi News

पोखरा  । साहित्यकार सरुभक्तका ५ ओटा मुक्तक सङ्ग्रहलाई एउटै कृतिभित्र समेटेर प्रकाशन गरिएको छ । यसअघि प्रकाशित ३ ओटा तथा नयाँ २ ओटा मुक्तक सङ्ग्रह समेटिएको ‘सरुभक्तका मुक्तक’ नामक कृति आइतबार पोखरामा लोकार्पण गरियो । कृतिमा करिब ५० वर्षमा लेखिएका मुक्तक समेटिएका छन् ।

आयोजक मुक्तक मञ्च, केन्द्रीय समितिका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ ले कृतिको लोकार्पण गरे । कृति नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाले प्रकाशन गरेको हो । सरुभक्तका दार्शनिक मुक्तकहरूले आफूलाई आकर्षण गर्ने गरेको वात्स्यायनले बताए । निरन्तर साधना र अध्ययनले सरुभक्तलाई आजको सरुभक्त बनाएको भन्दै उनले पोखरा मात्र नभई सिङ्गो नेपाली साहित्यकै गौरव गर्नलायक साहित्यकारका रूपमा आफूले सरुभक्तलाई चिनेको बताए ।

सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ नामक मुक्तक सङ्ग्रह वि. सं. २०३५ मा प्रकाशन भएको थियो । पोखराकै पहिलो मुक्तक सङ्ग्रहका रूपमा परिचित उक्त कृतिसँगै हजार बुद्धहरू (२०६१) र प्रेमयात्रा (२०६७) सहित पूर्व प्रकाशित ३ कृति र ‘जीवनयात्रा’ र ‘समययात्रा’ गरी दुई नयाँ कृति सो पुस्तकमा समावेश गरिएका छन् । मुक्तककार सरुभक्तले मुक्तकसँगको आफ्नो सम्बन्ध गाढा भएको भन्दै अब मुक्तकले नै लेखाउने अवस्थामा पुगेको अनुभव सुनाए । भने, ‘लेख्दिनँ भन्छु तर मुक्तकले नै मलाई मुक्तक लेखाउँछ ।’ उनले नेपालभरि मुक्तकसम्बन्धी अनेकौँ गतिविधि सञ्चालन हुँदै आएको बताउँदै आगामी दिनमा अन्तर्राष्ट्रिय मुक्तक गोष्ठी आयोजना गर्न मुक्तकसम्बन्धी संस्थाहरूसँग प्रस्ताव गरे । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तका यसअघि आख्यान, नाटक, कवितालगायतका झण्डै ४ दर्जन कृति प्रकाशित छन् ।

साहित्यकार तीर्थ श्रेष्ठले सरुभक्तका मुक्तकको विशाल सङ्कलन प्रकाशन हुनुलाई ‘ऐतिहासिक कार्य’को संज्ञा दिए । टिकटमा मुक्तक कार्यक्रम सुरु गर्दादेखि हालसम्मका मुक्तकहरूलाई एउटै सङ्ग्रहमा समेटेर प्रकाशन गरिनु समग्र नेपाली मुक्तक क्षेत्रकै गौरवको कुरा भएको उनको भनाइ थियो । उनले मुक्तक कसैले यही संरचनामा लेख भन्न नहुने बताउँदै त्यस्तो तानाशाही प्रवृत्तिलाई कसैले नमान्ने तर्क गरे ।

कृतिका सम्पादक डा. रूपक श्रेष्ठले सरुभक्त जस्तो दिग्गज स्रष्टाका मुक्तकहरूको सम्पादन गर्ने क्षमता आफूले नराख्ने बताउँदै आफू केवल सङ्कलक भएको धारणा राखे । उनले सरुभक्तका मुक्तकहरूको सङ्कलन प्रकाशन गरेर सरुभक्तको मुक्तक मात्रै प्रकाशन गरेको नभई सिङ्गो नेपाली मुक्तकको इतिहासको संरक्षण गर्ने प्रयास गरेको बताए । कृति प्रकाशनबाट प्राप्त रकमबाट मुक्तकसम्बन्धी पुरस्कार स्थापनाका लागि खर्चिने उनले जानकारी दिए ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले चार हरफको रचना भनेर मुक्तकप्रति नकारात्मक दृष्टि राख्नेप्रति असन्तोष व्यक्त गर्दै सिङ्गो महाकाव्यले दिन सक्ने भाव एउटै मुक्तकले दिन सक्ने जिकिर गरे । प्रतिष्ठानकै संस्थापक महासचिव रमेश पौडेलले सरुभक्त मुक्तक मन पराउनेहरूका लागि पवित्र धाम भएको बताए । पागल बस्ती नामक उपन्यासका लागि २०४८ को मदन पुरस्कार विजेता सरुभक्तले अन्य विधा लेख्न नजानेर मुक्तकमा लागिरहेका नभई मुक्तकप्रतिको लगाव र यसको शक्तिका कारण लेखिरहेको पौडेलको तर्क थियो ।

नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरलेले स्वागत तथा सचिव नवीन भण्डारीले सञ्चालन गरेका कार्यक्रममा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले कृतिभित्रबाट केही मुक्तक वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP