Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
विश्वशान्ति माविको ५८ औँ वार्षिकोत्सव – Sarangi News

पोखरा । रूपा-५, देउरालीको ५८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रूपा गाउँपालिकाले आन्तरिक आम्दानीको ५० प्रतिशतभन्दा बढी बजेट शिक्षाका क्षेत्रमा विनियोजन गरेको जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्यो भनेर चिन्ता गर्नुभन्दा भएकालाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा ओझाको जोड थियो । उनले देशको शिक्षा नीति नै अप्ठ्यारो खालको भएको भन्दै विद्यालय सञ्चालन गर्ने स्विकृति दिने तर दरबन्दी नदिने नीतिलाई सुधार गर्नुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक बुद्धिसागर अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले प्रशस्त असल अभ्यासहरू गरिरहेको जनाए । गण्डकी प्रदेशकै पहिलो स्मार्ट विद्यालयका रूपमा रहेको विश्वशान्तिलाई व्यावहारिक रूपमै प्रविधिमैत्री बनाउनका लागि विद्यालय लागिपरेको अधिकारीले बताए । भौतिक र शैक्षिक दुवैको सुधार गर्दै चुस्तदुरुस्त प्रशासनिक सेवा सञ्चालनमा विद्यालय अघि बढेको उनको भनाइ थियो । विद्यालयका भावी रणनीति र चुनौतिबारे प्रकाश पार्दै उनले प्राविधिक धार र विद्यालयको बससेवालाई निरन्तरता दिन कठिन भएको सुनाए ।

रूपा गाउँपालिका, वडा नम्बर २ का अध्यक्ष राजन सुवेदीले गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादनका लागि जनप्रतिनिधिहरू गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । राजनीतिलाई पेसा होइन समाजसेवासँग जोड्नुपर्ने बताउँदै सुवेदीले विद्यालयका ५० जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गर्ने घोषणा गरे ।

कार्यक्रममा रूपा गाउँपालिका, वडा नम्बर ५ का अध्यक्ष राजन खनालले विद्यालयका समस्याहरूको समाधान गर्न वडा सरकार सधैँ तयार रहेको बताए । सोही अवसरमा विद्यालयमा लामो सेवा गरेका काशीराम घिमिरे र कार्यालय सहयोगी शिव बराललाई सम्मान गरिएको थियो । कार्यक्रममा आजीवन सदस्य बनेकी शिक्षिका मञ्जू गुरुङलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व प्रअद्वय महेन्द्रकुमार श्रेष्ठ र रामलाल श्रेष्ठ, पूर्व अध्यक्ष दामोदर घिमिरे, नेपाल टेलिकम, पोखराका निर्देशक इन्दल यादव, प्रशासकीय अधिकृत महेन्द्र रिमाल, छिमेकी विद्यालयका तर्फबाट शिवालय माविका प्रअ रुपिन्द्र प्रभावी, शिक्षा शाखाका प्रास बृहस्पति अधिकारी, लायन्स क्लब अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष  पुरनकुमार श्रेष्ठ, विद्यार्थी क्रान्ति सुनारलगायतले शुभकामना दिएका थिए ।

सहायक प्रअ लेलिन घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक दीपक सुवेदीले स्वागत गरेका थिए । विभिन्न व्यक्ति तथा संस्थाहरूद्वारा स्थापित अक्षयकोषबाट छात्रवृत्तिसमेत वितरण गरिएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP