पोखरामा मनाइयो मुक्तक दिवस, उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार दिइने – Sarangi News

पोखरा । मुक्तक मञ्च पोखराको केन्द्रीय समितिले बिहिबार पोखरामा प्रथम मुक्तक दिवस मनाएको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा मुक्तककार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार–२०८० प्रदान गर्ने घोषणा गरिएको थियो । पुरस्कारमा ३३ हजार ३३३ रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । मञ्चका सल्लाहकार तथा प्रतिभा छनोट समितिका सदस्य रुपिन्द्र प्रभावीले सो घोषणा गर्दै शेरचनले ३० को दशकदेखि हालसम्म नेपाली मुक्तकमा पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिए । साहित्यकार सरुभक्तको संयोजकत्वमा प्रभावी र कृष्ण देवकोटा सदस्य तथा संस्थापक विष्णु अल्पविराम र अध्यक्ष रामजीप्रसाद आचार्य पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मञ्चले जनाएको छ ।

२०१२ मा पोखरामा जन्मेकी साहित्यकार शेरचनको वि. सं. २०५६ मा ‘अक्षरहरूका शिविरबाट’ नामक मुक्तक सङ्ग्रह प्रकाशित छ । यसका अलावा नजन्मेका आस्थाहरू (कविता सङ्ग्रह, २०४८), सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (कविता सङ्ग्रह, २०६३), तेस्रो रङ (कथा सङ्ग्रह, २०७०), आधि (उपन्यास, २०७६) प्रकाशित छन् । खोलीको दुई किनार भो… लगायत थुप्रै गीतहरूसमेत लेखेकी शेरचन यसअघि नातिकाजी सङ्गीत पुरस्कार, पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार, व्यथित काव्य पुरस्कारलगायतबाट सम्मानित छिन् ।

मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तक दिवसको महत्त्वबारे बोल्दै नेपाल मुक्तक प्रतिष्ठान र मुक्तक मञ्चको संयुक्त पहलमा मुक्तक दिवस मनाउने निर्णय भएको जानकारी दिए । पोखरामा २०७० मा जारी गरिएको रचनाविधानसम्बन्धी पोखरा घोषणापत्र जारी भएको र २०३५ मा टिकटमा मुक्तक कार्यक्रम सम्पन्न भएको सन्दर्भलाई आधार मानेर हरेक वर्ष माघ १८ गते मुक्तक दिवस मनाउने निर्णय भएको उनको भनाइ थियो । यसले नेपाली मुक्तकका क्षेत्रमा विशेष महत्त्व राख्ने उनको भनाइ थियो ।

पुरस्कारका संस्थापक विष्णु अल्पविरामले पुरस्कारको रकम क्रमशः बढाउँदै लैजाने प्रतिबद्धता जनाए । कार्यवाहक सचिव अम्बिका ओझाद्वारा सञ्चालित कार्यक्रममा डा. ईश्वरमणि अधिकारी, गौरी तमु, कृष्ण देवकोटालगायतले आफ्ना मुक्तक वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP