Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
र्‍यान्डममा कखराको चर्चा – Sarangi News

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा गरेको छ ।

साहित्यकार हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि परिचर्चा गर्दै सोसाइटीकै पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले उपन्यास शिक्षक, विद्यार्थी र अभिभावकले पढ्नैपर्ने कृति भएको धारणा राखिन् । “नेपाली साहित्यमा किशोरावस्थाका बालबालिकाहरूको मनोविज्ञानको अध्ययन गरी एकदम थोरै पुस्तक लेखिएका छन्” बस्नेतले भनिन्, “एक आर्दश विद्यालयको परिकल्पना र योजना प्रस्तुत गरिएको यो किताबलाई शिक्षाका नीति निर्माणकर्ता, हरेक अभिभावक, शिक्षक, सञ्चालक सबै सबैले पढ्नैपर्ने पुस्तकको सूचीमा राख्न सकिन्छ ।”

उपन्यासकार तिमिल्सिनाले सबैभन्दा बढी पढ्नुपर्ने वर्ग शिक्षक भएकोमा जोड दिँदै उनीहरूले पढे मात्र विद्यार्थीमा पढ्ने बानी बसाल्न सकिने धारणा राखे । ‘सिकाउनेले पढौँ’ अभियानसमेत सञ्चालन गर्दै आएका तिमिल्सिनाले ‘एजुकेसन’ भन्दा  ‘स्कुलिङ’ हावी भएको बताए । देशभित्र र बाहिरका विभिन्न विद्यालय घुमेको अनुभव सुनाउँदै उनले बालबालिका इमानदार हुने भएकाले उनीहरूलाई पठन संस्कृतिसँग जोड्न सक्दा शैक्षिक र सामाजिक विकास हुन सक्ने बताए । आफूले किताबमा गरेको आदर्श विद्यालयको परिकल्पना नेपालमै पनि साकार हुँदै गएकोमा उनले खुसी व्यक्त गरे । हामीले परम्परागत रूपमा पढाउँदै आएका पाठ्यपुस्तकले संसारमा १० प्रतिशत मात्रै व्यावहारिक जीवनमा काम गरेको तथ्य भेटिएको बताउँदै बालबालिकालाई स्वतन्त्र पढाइमा आकर्षित गर्नुपर्नेमा तिमिल्सिनाको जोड थियो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कवि रमेश श्रेष्ठ, ध्रुव केसी, कृष्ण केसी, ईशा शाह, रीता अधिकारी ‘ऋतु’, सुरेश लम्साल, गीता लामिछाने, जीवनसागर भण्डारी, डा. भूमिराज बस्ताकोटी, सुरज पौडेल, लोचना अधिकारी, गीता तिवारी, धर्मेश जैसवाल, भीम न्यौपानेलगातयले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै विषय वा पुस्तकमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP