Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
‘मान्छे हराएको मान्छे’ लिएर आए लक्ष्मण थापा – Sarangi News

पोखरा । साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ ।
लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, साहित्यिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे । लघुकथा आकारका दृष्टिले सानो भएका कारणले मात्र नभई यसको क्षमताकै कारणले लोकप्रिय भएको मत राख्दै उनले विराट् विश्वलाई अटाउन सक्ने क्षमता लघुकथाले धारण गरेको भनाइ राखे । मान्छेभित्रको मान्छे गुण हराइरहेको परिवेशमा हरेक मान्छेले यो धर्तीमा जन्मेर मान्छे आवरणले मात्र मान्छे छु वा वास्तविक मान्छे नै हुँ भन्ने कुरा प्रत्येक मान्छेले सोच्नुपर्ने बेलामा कृति आएको सरुभक्तले बताए ।
कथाकार थापाले आफूलाई साथीहरूको सङ्गतले लेखक बनाएको बताए । यो कृति पनि साथीहरूकै प्रेरणाले ल्याएको भनाइ राखे । रोलाँ बाथको ‘डेथ अफ अथर’ को सिद्धान्तलाई आफूले स्वीकार गरेको बताउँदै उनले कृतिको जिम्मेवारी पाठकमा हस्तान्तरण भइसकेको बताए । उनका यसअघि मनको मूच्र्छना (गजल सङ्ग्रह, २०६०), पलापला (गजल सङ्ग्रह, २०६५), पर्खालबाहिर (मुक्तक सङ्ग्रह, २०६६) र अक्षरहरूको मूच्र्छना (कविता सङ्ग्रह, २०७७) प्रकाशित छन् । माया पब्लिकेसनले प्रकाशन गरेको मान्छे हराएको मान्छेमा ७० ओटा लघुकथा समेटिएका छन् । लघुकथा प्रतिष्ठानका अध्यक्षसमेत रहेका थापा छोरेपाटन माविका पूर्व प्रधानाध्यापक तथा निवृत्त शिक्षकसमेत हुन् । उनी नवनीत साहित्य सागरका पूर्व अध्यक्ष तथा अक्षरयात्राका परिकल्पनाकारमध्ये एक हुन् ।
कृतिको समीक्षा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले विषयगत विविधता ‘मान्छे हराएको मान्छे’ को वैशिष्ट्य भएको बताए । उनले थापालाई कृतिका लघुकथाका आधारमा सामाजिक यथार्थवादी साहित्यकारका रूपमा चिन्न सकिने बताए । दार्शनिक चिन्तन गर्न सक्ने कथाकारका रूपमा थापालाई स्थापित गर्ने लघुकथाहरू कृतिमा समेटिएका डा. अधिकारीको भनाइ थियो ।
कथाकार थापाको परिचय दिँदै साहित्यकार दीपक समीपले साहित्यिक भिडमा पनि अलग्गै चिन्न सकिने साहित्यिक व्यक्तित्वका रूपमा चिनाए । थापा विचारको प्रयोग र शब्दहरूको सदुपयोग गर्न सक्ने साहित्यकारका भएको समीपको मत थियो ।
लघुकथा प्रतिष्ठानका उपाध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव अमृतले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP