Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
र्‍यान्डममा रेणुकाको ‘तुइन जिन्दगी’ को परिचर्चा – Sarangi News

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा डा. रेणुका सोलुको निबन्धकृति ‘तुइन जिन्दगी’ को परिचर्चा गरेको छ ।
कृतिको परिचर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले सोलुले निबन्धमा सत्यमाथिको अन्याय, अत्याचार र थिचोमिचोका विरुद्ध परिवार, समाज र सरकारसित कडा प्रतिवाद गरेकी बताए । “आमाहरू र समस्त नारी जातिमाथिको विभेद तथा विभेदपूर्ण समाज, संस्कार तथा परिवेशहरूमाथिको उनको यो खबरदारी साँच्चै प्रशंसायोग्य छ ।” डा. अधिकारीले भने, “एउटी नारीको सङ्‍घर्षपूर्ण जीवनको लामो फेहरिस्त किताबमा छ ।” जीवन बाँच्ने वा बाँच्न चाहने धेरै आमादिदीबहिनीहरूको भावनालाई कृतिले समेटेको बताउँदै उनले सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक दुर्गमता तथा दुरवस्थाले गाँजिएका आम नारीहरूको चेतना र सङ्‍घर्षको दस्तावेजका रूपमा कृति आएको बताए ।
‘तुइन जिन्दगी’ नारीमाथि गरिएका अन्याय, अत्याचार, कुसंस्कृति, धार्मिक–सामाजिक असामानता, विभेद आदि इत्यादिका विरुद्ध उभिएको एउटा लिखित दस्तावेजहरूको समष्टिगत स्वरूपका रूपमा आएको डा. अधिकारीको भनाइ थियो ।
निबन्धकार सोलुले आफूले जीवनमा भोगेका तितामिठा कुराहरूलाई अनुभूतिको गहिराइमा पुगेर लेखेको बताइन् । कृतिमा लेखिएका निबन्धहरू यथार्थको धरातलमा टेकेर लेखिएको बताउँदै डा. सोलुले आज पनि महिलाले भोग्नुपरेको अनेकौँ पीडाहरू लेखिसाध्य नै नभएको बताइन् । विश्वविद्यालय जस्तो प्राज्ञिक निकायमा समेत महिला हिंसाको कहालीलाग्दा घटना आफूले देखेको बताउँदै उनले समाज परिवर्तनका लागि सचेत वर्गले आवाज उठाउन छोड्न नहुने बताइन् ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गुञ्जन साहित्य समाजकी अध्यक्ष जलेश्वरी श्रेष्ठ र संस्थापक अध्यक्ष पद्मावती सिंहले शुभकामना दिएका थिए । सोसाइटीका सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा डा. रजनी ढकाल, कुमार तामाङ, बाबुराम सुवेदीलगायतले टिप्पणी गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP