हातहातमा मोबाइल, टोलटोलमा पुस्तकालय चाहिँ खोइ? – Sarangi News

घनश्याम अस्तित्व

एकजना विद्वानले भनेका छन्, एउटा कोठा पुस्तक बिना छ भने त्यो कोठा चेतना बिनाको शरीर जस्तै हो । यसको अर्थ यो हो कि पुस्तक सूचना अथवा ज्ञानको अभिलेख राख्ने सबैभन्दा महत्वपूर्ण स्रोत हो । ज्ञान प्राप्तिका माध्यमहरू धेरै आएका छन्, आज हामीहरू सुन्न र हेर्न सक्छौं । तर ती माध्यमहरूले ज्ञान अथवा सूचना प्रदान गर्छन् । तर यी माध्यमहरू भरपर्दा माध्यमहरू भने होइनन् ।

हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने पुस्तकहरूको अध्ययनको कुनै नकारात्मक प्रभावहरू छैनन्, तर अध्ययनका लागि डिजिटल प्रविधिको प्रयोग गर्दा यसका धेरै असरहरू छन् । यसले हाम्रो शारीरिक, मानसिक, र संवेगात्मक पक्षहरूमा असर गर्ने कुरा विभिन्न अध्ययन अनुसन्धानहरूले देखाएका छन् । यसर्थ, ज्ञान र सूचना संग्रहित गर्ने पुस्तक नै सबैभन्दा महत्वपूर्ण माध्यम हो ।
खासमा हरेक कोठामा एउटा कुनामा पुस्तकहरू सजिएको हुनुपर्दछ । सायद यी कुरा गरिरहँदा तपाईंलाई हाँसो पनि लाग्न सक्छ । तर आज हरेकको हातमा मोबाइल छ । हरेक कोठामा पुस्तकहरू सजाइएको नहुन सक्छ, रुचिले तान्ला या नतान्ला, तर घरमा एउटा कोठा पुस्तकालयकै लागि छुट्याउनु असाध्यै आवश्यक छ । अब घरघरमा पुस्तकालयको कुरा गर्दा पनि तपाईंलाई हाँसो लाग्न सक्छ । कम्तिमा पुस्तकालय हरेक टोलमा अनिवार्य हुनुपर्छ । अब टोलमा पनि सम्भव हुँदैन भने, हरेक गाउँमा र हरेक विद्यालयमा एउटा व्यवस्थित पुस्तकालय अनिवार्य हुनुपर्छ ।

आज हरेक टोलमा तास खेल्नका लागि प्रशस्त चौतारीहरू छन्, रक्सी खानका लागि प्रशस्त भट्टीहरू छन्, क्यारम खेल्नका लागि चोकचोकमा दोकानहरू खुलेका छन् । मानिस यति धेरै फुर्सदमा छन् कि उनीहरूलाई फुर्सदले नै निल्ला जस्तो स्थिति छ । तर मानिसहरूलाई सिर्जनात्मक र रचनात्मक ढंगले व्यस्त बनाउनका लागि पुस्तकालय निर्माण र अध्ययन संस्कृतिको विकास जरुरी छ ।
म पछिल्लो एक वर्षदेखि गाउँमा बसिरहेको छु । मलाई असाध्यै दुःख लाग्छ कि कुनै पनि गाउँमा व्यवस्थित पुस्तकालय भेट्नु मुस्किल छ । हामी भन्छौं, मानिसहरू बिग्रिएका छन्, विवेकहीन भएका छन्, अनैतिक भएका छन्, बेरोजगार भएका छन्, के हाम्रा स्थानीय तहहरूले पुस्तकालय खोल्ने कुरामा ध्यान दिएका छन् रु हरेक विद्यालयका लागि ६, ७ लाखको लगानीमा पुस्तकालय खोल्ने कार्यक्रम चलाइरहेका छन् स्थानीय तहहरूले, तर त्यो बजेट विद्यालयले पुस्तकालय स्थापनाका लागि खर्च गरेको कतैकतै मात्रै भेटिन्छ । मलाई लाग्छ, पुस्तक यति वेवास्तामा कहिल्यै परेको थिएन । पुस्तकको महत्त्व बोध नगरिएको समय यो बाहेक कहिल्यै थिएन ।

आज हाम्रा हरेक बालबालिकालाई पुग्ने हरेक घरमा व्यक्तिपिच्छे मोबाइलहरू छन् । मोबाइल आफैंमा गलत कुरा होइन, यसबाट धेरै सकारात्मक कुरा सिक्न सकिन्छ । तर के मोबाइलको सही प्रयोग गरिरहेका छन् हाम्रा बच्चाबच्चीहरूलेरु सिर्जनात्मक कुराका लागि मोबाइलको प्रयोगबाट हाम्रा बच्चाबच्चीहरूले केही रचनात्मक काम गरिरहेका छन् भने, निश्चय नै एकदम थोरैले मात्र । मानिसहरूले भनेको सुनिन्छ, “हाम्रा नानीबाबूहरूलाई मोबाइलले बिगार्यो । मोबाइल राखिदिने हरेक अभिभावकहरुलाई थाहा छ, मोबाइलले मेरो बच्चाबच्ची बिगार्छ । तर बच्चाबच्चीको हातमा मोबाइलको सट्टा के दिने भन्ने कुरा मा त्यति बढी ध्यान दिइँदैन । अल्बर्ट आइंस्टाइनले भनेका थिए, “मलाई डर लाग्छ कि प्रविधिले मानव अन्तक्र्रियालाई ओझेलमा पार्नेछ, र संसार मूर्खहरूको पुस्ता देख्नेछ ।” यसलाई रोक्नको लागि हामीले डिजिटल लतलाई हटाएर पढ्ने बानीको विकास गर्नुपर्छ ।

आजको युवा पुस्तालाई म देख्छु, उनीहरू सामाजिक सञ्जालमा कुनै पनि सामान्य अथवा अराजक विषयमा घण्टौं घण्टा घोत्लिन्छन्, टिप्पणीको दोहोरी खेल्छन्, घोचपेचमा अल्झिन्छन्, सामाजिक सञ्जालमै मुक्का हानाहान गर्छन्, सामाजिक सञ्जालमै खुडा प्रहार गर्छन् । तर सतही सूचनाको आधारमा गरिने सामाजिक सञ्जालको यो अर्थहिन युद्ध हेर्दा के देखिन्छ भने आजको पुस्ताले अध्ययनमा खासै रुचि राखेको पाइँदैन । सामाजिक सञ्जालमा प्रायः युवाहरूको प्रस्तुति हेर्दा सहजै निष्कर्षमा पुग्न सकिने तथ्य हो ।

कुनै विषय अथवा संकायबाट स्नातकोत्तर सकिने बित्तिकै व्यक्ति आफूलाई पूर्ण विद्वान सम्झन्छ । मस्तिष्कमा अहमको पोको बोकेर हिँड्ने उसलाई यो कुरा थाहा हुँदैन कि मैले थाहा पाउन बाँकी धेरै कुराहरू छन् । तर आजको पुस्ताको अध्ययनमा एकदम कम रुचि देखिन्छ । यो उनीहरूको मात्रै कमजोरीको विषय होइन, हाम्रो पुस्ताले उनीहरूलाई कस्तो शिक्षा र संस्कारमा हुर्कायो भन्ने कुरा बढी महत्वपूर्ण हो । विद्यालय मात्र सिकाइको थलो होइन, समाज सबैभन्दा ठूलो विश्वविद्यालय हो । समाज के कुरामा केन्द्रित छ भन्ने कुराले त्यहाँ हुर्किरहेका वा बढिरहेका बालबालिकाहरूको भविष्य निर्धारण गर्छ ।

एक अर्का विद्धान भन्दछन्, पुस्तकहरूको अध्ययन गर्नु भनेको विभिन्न शताब्दीका उत्कृष्ट मस्तिष्कहरूसँग अन्तरक्रिया गर्नु जस्तै हो । यसको अर्थ यो हो कि एउटा मानिसले तीन, चार, पाँच दशकको अनुभवबाट एउटा पुस्तक लेखेको हुन्छ । यदि एउटा मानिसले एकभन्दा बढी जीवन बाँच्न चाहन्छ भने, उसले पुस्तकहरू पढ्नु पर्छ । कोर्स पुस्तकहरू जसमा गन्दा पनि एक कक्षाबाट डिग्री हासिल गर्न २०० मात्र होलान्, ती पनि अत्यन्त औपचारिक र सामान्य ज्ञानका विषयहरू जसमा उसलेसूचना प्राप्त गर्दछ । त्यसले उसको दृष्टिकोण निर्माणमा भने सहयोग नपुग्न सक्छ । यसर्थ, हरेक मानिसको लागि अध्ययन आदत बन्न जरुरी छ, जीवनशैलीको एक अभिन्न अंश बन्न जरुरी छ । आजको यो परिवर्तित समयमा जसले समय, मानव जीवन र वर्तमानलाई पढ्दैन, बुझ्दैन, त्यो मानिस ओझेलमा पर्दछ, असफल बन्दछ, अपूर्ण बन्दछ । आज अक्षर चिन्नु, मिठो बोल्नु मात्र के महत्वपूर्ण कुरा रह्यो र ? सम्पूर्ण गलत कुराहरूबाट बच्नका लागि, मान्छे एक असल मान्छे बन्नकालागि पुस्तकहरूको संगत गर्नु जरुरी छ ।

एकजना विद्वान नील गेइमनले भनेका छन्, पुस्तक तिमीले हातमा समातेको तिम्रो सपना हो । आज यो विज्ञान र प्रविधि मान्छेले हातमा बोकेर हिँडेको छ । दुनिया हातमा बोकेर हिँडेको छ । त्यो भन्दा ठूलो तनावको भारी उसले मस्तिष्कमा बोकेर हिँडेको छ । यो किन हो भने हामीले मस्तिष्कको उपयोग केका लागि गर्ने भन्ने कुरा जानेनौ । पुस्तकको अध्ययन प्रविधिबाट पनि सम्भव छ, तर त्यसका फाइदाभन्दा बढी बेफाइदाहरू छन । यसले सकारात्मक कुरा भन्दा पनि नकारात्मक कुराहरूमा केन्द्रित गर्दछ, विकर्षण गर्ने धेरै कुराहरू मोबाइलमा छन् । तर पुस्तकको अध्ययनले मान्छेलाई तनावमुक्त, फ्रेस, तार्किक आलोचनात्मक चिन्तनको विकास, आफ्नै जीवन र समाजप्रतिको दृष्टिकोण निर्माण, मानव जीवनप्रतिको दृष्टिकोणको निर्माण, सम्पूर्ण प्राणी जगतप्रतिको दृष्टिकोणको निर्माण, राजनीतिक दृष्टिकोणको निर्माण गर्छ । त्यस्तै गरी समाजमा उसको भूमिका के, राष्ट्रमा उसको भूमिका के भन्ने विषयमा ऊ सचेत बन्दछ ।

समाजलाई सभ्य, सुसंस्कृत, विवेकशील, नैतिक र असल आचरणयुक्त बनाउनका लागि हरेक टोल टोलमा पुस्तकालयको निर्माण र विकास अनिवार्य छ । हरेक स्थानीय तहहरूले यसमा ध्यान दिन जरुरी छ । पुस्तकमा अथवा पुस्तकालय निर्माणमा गरिएको लगानीले एकै वर्षमा, केही महिनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न अथवा समाज रूपान्तरणमा तुरुन्तै नतिजा नदिन सक्छ । यो ज्ञान माथि गरिएको लगानीले केही दशक पछाडि भने हाम्रो समाजलाई असल समाज पक्कै बनाउनेछ । हाम्रा पछिल्लो पुस्तालाई असल मानिसहरूको पुस्ता बनाउनमा भने महत्वपूर्ण भूमिका खेल्नेछ ।

(लेखक अस्तित्व  कवि, साहित्यकार तथा  सामुदायिक विद्यालयका अङ्ग्रेजी भाषा शिक्षक समेत हुन् )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP