आइतबार , असार २८, २०८३
गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण – Sarangi News

पोखरा, असार २८ गते । पोखरा-१३, लामोडहरमा सञ्चालित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ ।

विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले विद्यार्थी र अभिभावक अभिमुखीकरण गराएका थिए । गण्डकी आदर्शले विद्यार्थीको सुविधा र हितका लागि अथक प्रयास गरेको जानकारी दिँदै सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावकको सकारात्मक साथले विद्यालयको प्रगति हुँदै गएको बताए । उनले विद्यार्थीलाई अभिभावकप्रति उत्तरदायी हुन र अभिभावकलाई विद्यार्थीप्रति जिम्मेवार हुन आग्रह गरे । होटेल म्यानेजमेन्ट र कम्प्युटर विषय समूहको पढाइ सञ्चालन हुँदै आएको गण्डकी आदर्शमा भएका प्रयोगशालालगायतका सुविधा पर्याप्त रहेको सापकोटाको भनाइ छ । आधुनिक प्रविधि र समयलाई सम्बोधन गर्ने गरी पठनपाठन सञ्चालनमा जोड दिइएको जनाउँदै सापकोटाले पढाइका अलावा विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि पनि विद्यालयले विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको भनाइ राखे ।

विद्यालयकी प्रिन्सिपल मञ्जू सापकोटाले विद्यालयले एसइई र एसएलसीमा शतप्रतिशत नतिजा हासिल गर्नुका अलावा जीवनोपयोगी सिप र नेतृत्व क्षमता विकासमा ध्यान दिएको बताइन् । विद्यालय र अभिभावकबिचको सहकार्यले मात्र विद्यार्थीको सफलता सम्भव हुने बताउँदै सापकोटाले असल नागरिक बनाउने उद्देश्यसहित विद्यालयले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

कक्षा १२ का विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रममा कक्षा ११-१२ की संयोजक वर्षा गुरुङ, शिक्षक अखिलेश्वर भण्डारी, कक्षा १२ की छात्रा स्वेच्छा विश्वकर्मा, कक्षा ११ की छात्रा दीपिका भुजेललगायतले बोलेका थिए । कक्षा १२ का साजन सुनार र विद्या गुरुङको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक तथा साङ्गीतिक प्रस्तुतिहरू राखेका थिए ।

हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा गण्डकी आदर्शबाट सहभागी पहिलो वर्षका सहभागी विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएका थिए । यो उत्कृष्ट नतिजालाई कायम राख्न वक्ताहरूले विद्यार्थीहरूलाई शुभकामना दिएका थिए । कक्षा ११ मा यस वर्ष ३५ जना विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP