बलराम तिमिल्सिनाको कविता : गणतन्त्रको देब्रे किनारा ! – Sarangi News

गणतन्त्रको देब्रे किनारा ! – बलराम तिमिल्सिना
****************
गणतन्त्रको सरहदमा छन
विभिन्न क्षेत्रहरू
ती अलग अलग क्षेत्रमा बस्छन
अलग अलग हैसियतका
अलग अलग मनोविज्ञान
र, अलग अलग सोचाईका मानिसहरू ।

म पहिला दाहिने किनारको कुरा गर्छु
जहाँ बस्छन् यो सताव्दिकै प्राचीनतम दिमागहरू
तिनीहरूको रीतिरिवाज फरक छ
भाषा शैली फरक छ
भेषभुषा फरक छ
मुल्य मान्यताहरू फरक छन
ती अलिअलि दु:खी छन अचेल
तिनीहरूलाई सबै कुरा छ
तर एउटा कुरा छैन-
श्रीपेच लगाएको शासक
त्यसैले तिनीहरू
श्रीपेच लगाउने आऊ गणतन्त्र खाऊ भन्दै
धूप हालेर बसेका छन ।

त्यसपछि आउँछ मध्यवर्ती क्षेत्र
यो क्षेत्रको आवादी निकै ठूलो छ
गणतन्त्रको राजकाजमा
यही क्षेत्रको हालीमुहाली छ
यो क्षेत्रमा मिश्रित रुप रङ्गका मान्छेहरू बस्दछन्
केही दाहिने किनारका बासिन्दा जस्ता
केही देब्रे किनारका बासिन्दा जस्ता
भाषा शैली र भेषभुषा पनि मिसमास छ
यिनीहरू सन्तुष्ट छन
यिनीहरू भन्छन्-
अब हाम्रो ब्यबस्था आइसक्यो
अब अबस्था फेर्न पाए पुग्छ
त्यो अबस्था भनेको कस्तो हो
यिनीहरू खास बुझिने गरी भन्दैनन्।

अर्को एउटा क्षेत्र छ गणतन्त्रमा
देब्रे किनारा क्षेत्र
यसको आवादी
दाहिने किनारभन्दा धेरै
र मध्यवर्ती क्षेत्रभन्दा अलि कम छ
आवादीमा तल माथि भैरहन्छ
मध्यवर्ती क्षेत्रसँग जोडिएका
केही गाउँहरू वारे विवाद छ
ती कहिले देब्रे किनारा तिर
र कहिले मध्यवर्ती क्षेत्रतिर लाग्ने गर्छन
यो क्षेत्रका बासिन्दाहरूको लागि
गणतन्त्र भन्ने कुरा
नखाऊँ भने दिन भरीको शिकार
खाऊँ भने कान्छा बाऊको अनुहार भएको छ
यिनीहरू गणतन्त्रलाई बदल्न चाहन्छन
र अझ उन्नत गणतन्त्र ल्याउँन चाहन्छन
यहाँ पनि केही बहसहरू छन
कोही पहिले नौलो जनवाद अनि समाजवाद
र कोही एकै पटक समाजवादमा पुग्ने भन्छन ।

यो कविको बसोबास
गणतन्त्रको त्यही देब्रे किनारमा पर्छ
तपाईहरूलाई मेरो ठेगाना थाहा भयो नि हैन त ?

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP