Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
आइतबार , बैसाख ६, २०८३
बाँदरको मुटु र पुरुषको चित्त : बालकथा – Sarangi News

बाँदरको मुटु र पुरुषको चित्त हुँदैन  (बालकथा)

           – नरिश्वर गौतम

 सपना पाँच वर्षकी थिइन् । उनीहरूको परिवार गरिब थियो । बाबुले जेनतेन भारी बोक्ने, खेताला जाने गरेर कमाउँथे । आमा  घरको काम, गाईबस्तु, कुखुराको हेरचाह गर्थिन् । जेनतेन दुवै जना मिलेर हातमुख जोर्ने व्यवस्था मिलाउँथे ।

एक दिन उनको घरमा बाबा र आमाबिच मनमुटाव भयो । दुवैजना भनाभन गरे । भन्दै जाँदा ठुलै झगडा भयो । आमाले महिला हकअधिकारका कुरा समेत भनिन् । कानुनको सहारा लिएर कारवाही गराउँछु भनिन् । भनाभनमा कोही पनि हार्ने स्थिति भएन । अब जित्न सकिन्न भन्ने लागेपछि सपनाकी आमा रुन, कराउन र चिच्याउन लागिन् । वरपरका मानिस जम्मा भए । सबैले सम्झाइबुझाई गरे । सपनाका बाबा हातमा नाम्लो लिएर साहुको भारी बोक्न गए । आमा भने भुनभुनाउदै र रन्थनिदै गरिन् । एक्कासि मनमा के आएछ खै माइत जाने विचार गरिन् । सपनाले अचम्म मानेर सोधिन्,- मामु कहाँ जान लाग्नुभयो ? आमाले झर्किदै भनिन्, अब मामाघर जाने, म बस्दिनँ यहाँ, हिँड जाऊँ । आमाले झोला बोकेर सपनाको हात तान्दै भुतभुताउँदै घरबाट निस्किन् । सपना चुपचाप पछि लागिन् ।

 बाटोमा जङ्गल, भिर पनि पर्दथ्यो । त्यहाँ धेरै बाँदरहरू तलबाट माथि जाने, तल हाम फाल्ने, एउटा रुखबाट अर्कोमा हाम फाल्ने गर्दै थिए । सपना अलिक डराइन् पनि । खेल्दाखेल्दै बाँदरहरू रुख र भिरबाट तल जमिनमा पनि बजारिन पुग्थे । सपना त्यो हेर्दै आमाको हात समातेर हिँडिरहेकी थिइन् । उनको मनमा खुल्दुली भयो । आमासँग सोधिन्,- आमा हामी पनि बाँदरजस्तै रुख, भिरमा जान किन नसकेको होला ? गयो भने के हुन्छ ? सपनाको जिज्ञासा सुनेर आमा झस्कँदै भनिन्,- के भनेको छोरी यस्तो ? कहीँ मान्छे पनि बाँदरजस्तै रुख, भिरमा जान र हाम फाल्न हुन्छ त ? मुटु फुटेर मरिहालिन्छ नि । आमाको उत्तरले सपनामा झन् कौतुहलता जगायो । उनले फेरि सोधिन्,- अनि बाँदरको चाहिँ मुटु फुट्दैन त ? सपनाको प्रश्नको जवाफ दिँदै आमाले भनिन्, – बाँदरको त मुटु नै हुँदैन र पो डर पनि लाग्दैन । हाम्रो त मुटु काँप्छ, डर लाग्छ । सपना धेरै चलाख थिइन् । उनले झट्ट अर्को प्रश्न गरिन्,- आमा, अनि हजुर र बाबा झगडा गर्नुहुन्छ, दुवै जना भनाभन गर्नुहुन्छ तर पनि हजुर मात्र रुनुहुन्छ । बाबा त रोएको देखिदैन नि ? आमाले अलि झर्कदै भनिन्, – आ, के के सोध्छे यो नानी पनि । अनि बा त पुरुष हुन् नि, किन रुन्थे त ! पुरुष त कठोर हुन्छन् नि ।

सपनाले फेरि सोधिन्, – हजुर चाहिँ किन रुने त? आमाले जवाफ दिइन्,- मेरो मन (चित्त) दुख्छ अनि पिर पर्छ र रुन्छु । सपनाले कुरा बुझेझैँ गरी भन्छिन्, – ए, मैले बुझेँ, बाँदरको मुटु नभएर भिर, रुखबाट हाम फाल्छ, बाबा चाहिँ चित्त (मन) नभएर कहिलै रुनु हुन्न । हजुरको चित्त भएर रुनुहुन्छ, हो ? छोरीको कुराले आमा झसङ्ग भइन् । छोरीको कुराले उनलाई कताकता छोयो । एकछिन त्यहीँ बसेर सोच्न थालिन्,- साँच्चै बाँदरको मुटु नभए कसरी बाँच्छ होला र ? यो त उसको खाना र सुरक्षाको लागि गरेको परिश्रम पो होला । अनि पुरुषको के साँच्चै हाम्रोजस्तै चित्त नै हुँदैन होला र ? उनीहरूको पनि मन दुख्दैन होला र ? किन कठोर हुन्छन् होला ? मनमनै प्रश्न र उत्तर पनि आयो । होइन, कतै मैले गलत बुझेकी त होइन? नारी पुरुष दुवै उस्तै मानव त हो । पुरुष पनि धेरै निरास, उदास हुने, चिन्ता मान्ने गर्छन् । मन पनि छ होला तर पनि आफूलाई कमजोर देखाउन नचाहेर पो मन दरो पारेका हुन् कि ? अनि समस्याको समाधान रोएर मात्र पनि त हुँदैन ।

अब म माइत जान्नँ । फर्केर घरमै जान्छु । आखिर जति उहाँले भन्नुभयो उत्ति मैले पनि भनेकी छु । उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुभयो भने म यसरी माइत जानु ठिक हुँदैन । मैले पनि आफ्नो हक अधिकार मात्र होइन कर्तव्य र जिम्मेवारी पूरा गर्नैपर्छ ।

आमाले सपनालाई डोर्‍याउँदै घरतिर लागिन् । सपना भने छक्क परेर हिँडिरहिन् ।  

***********************************

गुल्मी । हाल : काठमाडौ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP