ब्लु डायरी- लेखक र पाठकबीचको राेमाञ्चक प्रेम कथा – Sarangi News

ब्लु डायरी- लेखक र पाठकको प्रेम कथामा आधारित उपन्यास – कृष्ण आचार्य

पहिलो उपन्यास अप्रिल फुल पाठकले रुचाएपछि दोस्रो उपन्यास लेख्नुपर्छ भन्ने लाग्यो । अब कस्तो उपन्यास लेख्ने त ? सबैभन्दा गम्भीर प्रश्न यही थियो । पहिलोभन्दा फरक लेख्नुपर्छ भन्नेबाहेक मसँग कस्तो भन्ने प्रश्नको अन्य कुनै जवाफ थिएन ।
२०७६ साल भदौ २३ गते बुबाको स्वर्गारोहणपछि म केही समय शान्त र भावुक भएँ । लेखपढमा खासै जागेन । दशैं तिहारको समयमा केही सुन्दर तथा मनोरम स्थलहरुको भ्रमणपछि मभित्रको लेखक जाग्यो । अनि मैले कपीमा उपन्यास कस्तो हुने भन्ने कुराको खाका बनाउन थालेँ ।

लकडाउनले साथ दियो
खाका तयार भए तापनि लेखनलाई गति दिन सकिरहेको थिएन । त्यति नै बेला चैत ११ गते लकडाउन भयो । अफिसको काम घरबाटै हुन थालेपछि मसँग लेखनका लागि धेरै समय बच्यो ।
कथा पोखराको परिवेशबाट सुरु भयो । आफू पोखरा गएर बसेको होटलबाटै कथाको सुरुवात गरेँ । त्यसपछि पोखराको परिवेशलाई कथामा उतार्ने प्रयास गरेँ । मुख्य पात्रहरु भने लेखक र पाठक राखेँ । हालसम्म लेखक र पाठकमा केन्द्रित भएर उपन्यास लेखिएको मैलाई खासै थाहा छैन । त्यसैले नयाँ पात्र जन्माउँदा विषय पनि नयाँ हुन्छ भन्ने विश्वास थियो ।
मैले केही पाठकहरुसँग पनि कुरा गरेँ । उहाँहरुको भावना बुझ्ने प्रयास गरेँ । उहाँहरुको लेखकप्रतिको प्रेम र सम्मानलाई ग्रहण गर्दै कथा बग्न थाल्यो । लकडाउनको समयमा बिहान ३ र दिउँसो २ घण्टा दिएर १ महिनामै एउटा करिब ३० हजार शब्दहरु ल्यापटपमा कैद भए । श्रीमतीले मलाई राम्रो साथ दिइन् । मैले लेखिसकेपछि पढ्ने र प्रतिक्रिया दिने काम गरिन् । जसले गर्दा ममा थप हौसला थपियो ।

सत्य घटनाहरु पनि छन्
उपन्यासमा मलाई प्रेम सँगै समाज र प्रकृतिको चित्र र चरित्र पनि उतार्नु थियो । किन भने प्रेमको बहुआयामिक पक्षहरु उपन्यासमा नयाँ खुराक हुने कुरा मलाई हेक्का थियो । मर्निङ वाकमा जाँदा म प्राय चरा र चरीलाई एउटा बुढो रुखमा प्रेम साटिरहेको देख्थेँ । त्यो दृश्यले मलाई निकै लोभ्याएको थियो । मैले प्रेमको प्रतिकको रुपमा चरा-चरीको प्रेम र उनीहरुबीचको सम्बन्ध दर्शाएँ । मुख्य पात्रहरुले चरा-चरीसँग गर्ने प्रेमले मानव र प्रकृतिबीचको सम्बन्ध देखाउन चाहन्थेँ । र, मलाई लाग्छ म यसमा सफल भएको पनि छु ।
त्यस्तै, केही फ्यानहरुले मलाई आफ्नो जीवनमा अनेक कथा सुनाउनुभएको छ । त्यसमध्ये हाई प्रोफाइलका छोराबाट भएको बलात्कारको घटना र लजताले प्रेमीलाई त्याँगेर अर्कैसँग बिहे गर्दा घटेका घटनाहरु फ्यानहरुबाटै सुनेका घटना हुन् । श्रीमान्ले चुरोटको ठुटाले डोब्ने, कुटपिट गर्ने, जसकारण डिप्रेशनमा परेको र कैयौँ पटक अस्पताल भर्ना भएर जीवित हुन सफल भएको घटनाले मलाई निकै पिरोलेको थियो । मैले एक पटक त लजता पात्रलाई मुख्य पात्र बनाएर सत्य घटनालाई नै आधार मानेर उपन्यास लेख्छु भन्ने सोचेको थिएँ । उहाँको प्रेमीको फोन नम्बरसमेत लिएको थिएँ । तर, त्यो कथा अप्रिल फुलभन्दा धेरै फरक नहुने भएपछि अप्रिल फुलमा नसमेटिएको पाटोलाई ब्लु डायरीमा समावेश गरेँ । जहाँ प्रेम र विवाहको सम्बन्धलाई बुझ्न सकिन्छ ।

कस्तो पुस्तक लेख्ने ?
ब्लु डायरी लेख्दै गर्दा यसलाई कस्तो पुस्तक बनाउने भन्ने थुप्रै विकल्पहरु थिए, मसँग । सबैभन्दा पहिला मैले यसलाई पाठकको सन्तुष्टिमा केन्द्रित गरेँ । अर्थात, पाठकले पढ्दा आनन्द आओस् भन्ने कुरामा विचार गरेँ । त्यसैले सरल भाषा, बगेको कथा, पात्रहरु बीचको संवाद र सामाजिक परिवेश र पात्रहरुबीचको प्रेमलाई सकेसम्म सुन्दर बनाउने प्रयास गरेँ ।
उपन्यासमा मानिसको जीवन हुनुपर्छ भन्ने मान्यता राख्ने भएकाले पनि होला त्यसपछि यसलाई हामीले बाँचिरहेको जीवनसँग मिलाउने प्रयास गरेँ । प्रकृति र पात्रहरुको सामाजिक उत्तरदायित्वले युवा पुस्ताको प्रेमिल जीवन मात्र होइन उनीहरुको जिम्मेवारी र भूमिका पनि कथाको विषय बन्न पुग्यो । समग्रमा भन्नुपर्दा मैले पुस्तकलाई सम्बन्धहरुमा आधारित बनाएँ । त्यो सम्बन्ध प्रेमको होस्, प्रकृति र मानवबीचको होस्, मानव र मानवबीचको होस् या अन्य कुनै । त्यतिमात्र होइन, आजको युवा पुस्ताले आफूले आफैलाई नचिनिरहेको अवस्थामा म को हुँ र मैले के गर्नसक्छु वा पर्छ भन्ने भावनाको विकास गराउन पात्रहरुलाई सोही खालको भूमिकामा केन्द्रित गरेको छु । मलाई विश्वास छ, पुस्तक पढ्नेहरुले यस्ता हरेक सम्बन्धको महत्व, आवश्यकता र भूमिका बुझ्नुहुनेछ ।

फ्युजन र सस्पेन्स
कथाको मुख्य विशेषता भनेको फ्युजन र सस्पेन्स हो । ब्लु डायरीमा प्रेम, जीवन र दर्शनको फ्युजन पाइन्छ भने घटनाक्रमहरुमा सस्पेन्स छ । उपन्यास पढ्दै जाँदा अब के हुन्छ भन्ने कुरा पाठकले पूर्वानुमान लगाउन सक्नुहुन्न । हरेक पाटोमा सस्पेन्स भएकाले पुस्तक पढ्न आनन्द आउँछ ।
यसका लागि मैले धेरै पटक पुर्नलेखन गरेको छु । कम्तिमा पनि १० पटक । पुस्तक राम्रो बनाउनका लागि धेरैभन्दा धेरै पुर्नलेखन गर्नु जरुरी छ । साथै केही अग्रजहरुले पढेर प्रतिक्रिया पनि दिनुभएको थियो । जसअनुसार सम्पादन गर्दै गएँ ।
पुस्तकले पठन संस्कृतिको विकास गरोस् भन्ने आकांक्षा मेरो हो । युवाहरुको कथा भएकाले यसमा उनीहरुको रुचि र आकर्षण पक्कै हुनेछ । उनीहरुको आफ्नो जीवनमा भोगिरहेका समस्या र चुनौति उपन्यासमा छन् र ती चुनौतिहरुको पार पनि लागेको छ । पात्रहरुले हरेक चुनौतिको सामना गर्दै जीवनलाई सुन्दर बनाएका छन् । प्रेमको अन्त्य जीवनको अन्त्य होइन र असफलताले जीवन सखाफ हुँदैन भन्ने कुरा उपन्यासले सिकाउँछ ।

प्रेममा शरीर कि भावना ?
उपन्यासमा मैले प्रेममा शरीर र भावनाबीचको ग्यापलाई प्रष्ट पार्ने प्रयास गरेको छु । हुन त यसबारेमा सबैको आ—आफ्नै धारण र विचार हुन्छन् तर, उपन्यासमार्फत मैले प्रस्तुत गरेको विषयले युवाहरुमा पक्कै कुनै न कुनै प्रभाव पार्नेछ भन्ने मेरो विश्वास हो । उपन्यासमा रहेको प्रेम सम्बन्ध लेखक र पाठकबीचको भएकाले यसअघि प्रेमका विषयमा लेखिएका उपन्यासभन्दा ब्लु डायरी फरक छ भन्ने मेरो विश्वास छ । पाठकले पुस्तक पढ्दा त्यहाँको पात्रलाई आफू कल्पना गरेर पढ्नुभयो भने त्यसले अझ आनन्द दिन्छ भन्ने मलाई लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP