प्रतिमा अधिकारी
“ममी मलाई पनि कृष्ण जस्तै बनाई दिनुन।” मन लगाई नलगाई हुन्छ बाबु भने। आफू संग घरमा भएका केही श्रृङ्गारका सामानहरू तथा कपडाहरू प्रयोग गरी छोराछोरीलाई राधा कृष्ण जस्तै बनाइदिने रहर मेरो पनि नभएको कहा हो र। हिजैदेखि धेरै विद्यालयहरुले केटाहरुलाई कृष्णको जस्तो र केटीहरूलाई राधाको जस्तो पहिरन लगाएर आउन अनुरोध गरेसँगै प्रायः सबै केटाकेटीहरू शृङ्गरिएर विद्यालय गएको पनि नदेखेको पनि होइन। फेसबूक र टिकटक को वालभरी राधा कृष्ण बनी अनेकौं तस्बिर र भिडियोहरु पनि हेरिरहेको थिए। हिजैबाटछोराले पनि मलाई यसले लगाएको जस्तै कपडा,मुरली, श्रीपेच,माला, आदि आदि किनिदिनु भन्दै जिद्दी गरिरहेको थियो। यदि नकिनिदिने हो भने म खानै खादिन,स्कूल नै जाँदिन भन्दै घुर्की लगाई राखेको थियो।
छोराछोरीको रहर अघि बाबुआमाको मन न हो आफूसँग पैसा भएपनि नभएपनि सरसापटी गरेरै भएपनि उनीहरूको इच्छा पूरा गराइदिन चाहन्छन।आजकलको बच्चाहरूमा यति जिद्दिपन बढ्दै गएको छ कि उनीहरूले साथीहरुले लगाएको देखेपछि वा कतै सामाजिक सञ्जालमा देखेपछि त्यो नभई हुँदैहुँदैन। बाबा आमाले सम्झाएर पनि टेर्दैनन्। विवश बनी बाबु आमा किनिदिन बाध्य हुन्छन्। हुन त कतिपय बाबुआमा देखावटि रूपमै बच्चाको इच्छा नभएपनि फेसबूक वा टिकटक फोटो र भिडियो राख्नको लागि भएपनि बच्चालाई कर गरी बनाईदिएको नि पाइएको छ। एकदिन एकछिन सामजिक सञ्जालमा राख्नको लागि भएपनि मानिसहरू हजारौं रुपैयाँ खर्च गर्न पछि पर्दैनन् । जुन संस्कृतिको जगेर्ना गर्न नभईकन समाजमा देखावटी पन रहेको जस्तो देखिन्छ ।
कयौ हुने खाने मानिसहरूलाई हजारौं रुपैयाँ खर्च गरी राधा कृष्णको पहिरन किनिदेलान् हुँदा खाने परिवारको मानिसहरूको सन्तानहरूको आफ्ना आश्यकताहरु पूरा नहुँदा उनीहरूको बालमस्तिस्कमा कत्तिको कस्तो असर पर्ला ?
भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्म भाद्र कृष्ण अष्टमीको दिन हिंदू धर्मालम्बीहरुले भगवान श्री कृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन् । बाल्यकालदेखि नै आफ्ना विचित्रलीला देखाएका श्री कृष्णले विभिन्न दानवी प्रवृत्तिको संहार गरेका थिए। राधिका अथवा राधा भगवान कृष्णको बालसखा, प्रेमिका वा साथी हुन्, यद्यपि उनीहरूको विवाह भने भएको हुँदैन। उनलाई प्रेमको शक्ति,कोमलता र भक्तिको देवीको रूपमा आराधना गर्ने गरिन्छ। धर्म संस्कृतिको संरक्षण गर्नु, आफ्ना सन्तानहरूलाई धर्म संस्कृतिको महत्त्व बुझाउँदै यसलाई युगान्तर परिचालन गर्दै जानु सम्पूर्ण मानवजातिको कर्तव्य र दायित्व पनि हो। कयौ हुने खाने मानिसहरूलाई हजारौं रुपैयाँ खर्च गरी राधा कृष्णको पहिरन किनिदिन कुनै ठूलो कुरा होइन होला। तर उनीहरूले गरेको व्यवहारले,उक्त तस्बिरहरू सामजिक सञ्जालमा राखिदिँदा हुँदा खाने परिवारको मानिसहरूको सन्तानहरूको आफ्ना आश्यकताहरु पूरा नहुँदा उनीहरूको बालमस्तिस्कमा कत्तिको कस्तो असर पर्ला एक फेर सोच्नु पर्ने पो होकी???एकपटक राधा कृष्णको पहिरन त किनिदेलान जेनतेन तर यस्ता चाडपर्व धेरै छन्। पटक पटकमा त्यस्तै पहिरन गराउन पक्कै पनि सजिलो छैन् होला सबैलाई। पहिरन लगाएर सामाजिक सञ्जालमा राखेर मात्र पनि संस्कृतिको संरक्षण हुनेहोइन होला ?
विभिन्न विद्यालयमा धर्मसंस्कृतिको चलन,महत्त्व दर्शाउँदै संस्कृतिको संरक्षणमा अग्रसर रहेकाे राम्रो पक्ष रहेको छ भने सम्पूर्ण बालबालिकाहरूलाई अनिवार्य रुपमा राधा कृष्णको पहिरन लगाई विद्यालय उपस्थित हुन लगाउँदा कमजोर आर्थिक अवस्था भएका अविभावकहरु झन् आर्थिक चपेटामा पो पर्ने हुन कि ? जसको लागि विद्यालयहरुले कुनै१/२ नमूना देखाई धर्मसंस्कृतिको महत्त्व बारे पनि बुझाउन सकिन्थ्यो कि?
हाल तछाडमछाड गर्दै समाजिक सञ्जालमा तस्बिरहरू राख्ने प्रचानले पनि कमजोर आर्थिक अवस्थाका मानिसहरू बच्चाको इच्छा पूरा गराइदिन भएनी नचाहेरै भएनी विकृति अनुसरण गर्न बाध्य भएका छन्। धर्मसंस्कृतिको संरक्षण गर्नु सम्पूर्ण मानव जातिको कर्तव्य हो। सबै चाडपर्वहरुको आ-आफ्नै महत्त्व छ। चाडपर्व,संस्कृतिलाई संस्कृतिको रुपमानै मनाऊ,बढ्दै गईरहेको विकृति सबै मिली हटाऊ। म पनि छोराछोरीको इच्छा पूरा गराइदिन साथै कृष्ण अष्टमीको महिमा सुनाउँदै, धर्मसंस्कृतिको महत्त्व दर्शाउँदै घरमै भएका श्रृङ्गारका सामानहरू,पहिरन लगाउँदै छोराछोरीलाई राधाकृष्ण बनाइदिई सामान्य तवरले श्री कृष्णाजन्माष्ठमी मनाउनतर्फ लाग्दछु।
लेखक श्री त्रिभुवन शान्ति नमूना मा.वि को शिक्षक हुन।