रवि लामिछाने प्रधानमन्त्री बन्ने बाटाे खुल्याे ? बुझाए नागरिकता प्रकरणबारे स्पष्टीकरण – Sarangi News

 चितवन । नागरिकता प्रकरणमा चितवन क्षेत्र नं. २ का उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् ।

विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

उजुरीका सन्दर्भमा लामिछानेले स्पष्टीकरण बुझाएको चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७ दिन समय दिएर रविलाई स्पष्टीकरण पेश गर्न भनेको थियो । रविले मंगलबार सातौं दिन स्पष्टीकरण बुझाएका हुन् ।

लामिछानेले सातौं दिनको अन्तिम समय पारेर स्पष्टीकरण मंगलबार दिउँसो ४.३० बजेतिर मुख्य निर्वाचन अधिकृतलाई शिलवन्दी गरेर बुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत थापाले लामिछानेले बुझाएको स्पष्टीकरण सिधै केन्द्रमा पठाउने र केन्द्रले नै निर्णय लिने बताए ।

‘उहाँले शिलबन्दी गरेर बुझाउनुभएको छ, हामीले ढिला गरी पायौं, जतिसक्दो छिटो आयोगमा पठाउछौं’, मुख्य निर्वाचन अधिकृत थापाले भने, ‘हामीले यहाँ केही नगर्ने भएकोले शिलबन्दी नखोली पठाउँछौं ।’

भरतपुरबाट बुधबार बिहान जहाजमार्फत शो स्पष्टीकरण पत्र निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले बताएको छ । रवि उम्मेदवार रहेको चितवन-२ मा हाल मतगणना भइरहेको छ र मंगलबारदेखि उनले अग्रता लिन थालेका छन् ।

रास्वपाका प्रवक्ता भन्छन्- समानुपातिकमा सोचेजस्तो मत आए आफ्नै नेतृत्वमा सरकार बनाउँछौं

तिनिधिसभाको प्रत्यक्ष निर्वाचन पद्धतितर्फ ११ स्थानमा अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार साँझसम्म समानुपातिक पद्धतितर्फ ५० हजार मत कटाएर तेस्रो स्थानमा छ । मतगणनाको प्रारम्भिक नतिजाबाट उत्साहित बनेका रास्वपाका नेताहरु अब आफ्नै नेतृत्वमा सरकार बनाउने बताइरहेका छन् ।

सभापति रवि लामिछानेको चुनाव क्षेत्र चितवन-२ मा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालसँग यसै सन्दर्भमा गरिएको कुराकानी :

मतगणनाको प्रारम्भिक नतिजाप्रति तपाईंहरुको के प्रतिक्रिया छ ?

हामीले यसलाई मतक्रान्तिको सुरुवातका रुपमा बुझेका छौं । हामीले पाएको मतलाई लोकतन्त्रको उन्नत स्वरुपका रुपमा लिएका छौं । यसले जनताभन्दा माथि कोही छैन भन्ने सन्देश दिएको छ ।

प्रत्यक्ष र समानुपातिक प्रणालीमा आइरहेको मत तपाईंहरुको आँकलन अनुसार नै हो वा फरक हो ?

हामीले त यो भन्दा पनि धेरै राम्रो हुने अपेक्षा गरेका थियौं । हामीलाई केही व्यक्तिले विश्वास गरेको भए हामी पहिलो पार्टी नै हुन्थ्यौं ।

व्यावसायिक र पेसागत रुपमा सफल तथा सामाजिक प्रतिष्ठा कमाएका कतिपय व्यक्तिले हामीलाई विश्वास नगरेर एक्लै चुनाव लड्न जानुभयो । कतिपले हाम्रो अनुरोध अस्वीकार गरेर राजनीतिमा आउन अनिच्छा गर्नुभयो । यस्तो नभएको भए हामी अहिलेको भन्दा अझ बलियो स्थानमा हुने थियौं ।

प्रारम्भिक नतिजा अनुसार तपाईंहरुको पार्टी संसदमा सरकार निर्माणका लागि महत्वपूर्ण हुन सक्ने देखिएको छ । तपाईंहरु कोसँग मिलेर जानुहुन्छ ?

सरकारमा जाने कि नजाने भन्ने कुरा त अरु दलको कति सिट आउँछ र कसरी आउँछ भन्ने कुराले निर्धारण गर्ला । अझै धेरै ठाउँको मतगणना हुन बाँकी छ । समानुपातिकको मत सबैतिर गणना गर्न सुरु भएको छैन ।

यसर्थ हाम्रो बुझाइ के छ भने समानुपातिकमा हामीले सोचेअनुसार मत आयो भने हाम्रै नेतृत्वमा सरकार बन्छ । यसो भएन भने हामी छलफल गरेर सरकारमा जाने वा प्रतिपक्षमा बस्ने निर्णय गर्छौं ।

दलको सबै संरचना नै नबनाइकन चुनावमा जानुभयो, अब राष्ट्रिय दलको रुपमा आउने भइसकेपछि दलको आन्तरिक संरचना पनि पूरा गर्नुपर्ला नि होइन र ?

हो, हामी यसको तयारीमा लाग्छौं । हाम्रो विधानले भातृ संगठन नबनाउने भनेको छ । हामी अब मासबेस्ड वा मतदातामा आधारित पार्टी हुन्छौं । वडा तहदेखि केन्द्रसम्म हाम्रो पार्टीको संरचना हुन्छ, तर भातृ संगठन, पेसागत संगठन भने हुँदैनन् ।

तपाईंहरुको पार्टीमा चुनाव नहुँदै संसदीय दलको नेता छान्ने तयारी भएको थियो, अब को हुन्छ संसदीय दलको नेता ?

चुनाव नहुँदै हामीले संसदीय दलको नेता हुन इच्छुक व्यक्तिलाई निवेदन दिन भनेका थियौं । चुनावले गर्दा ती निवेदनमाथि अध्ययन गर्न पाएका छैनौं । हाम्रो पार्टीको विधानअनुसार संसदीय दलको नेता बहुमतबाट छानिनुपर्छ भन्छ । अब यस विषयमा हामी तयारी गर्छौं ।

सभापति रवि लामिछाने नै त संसदीय दलको नेता बन्ने होइन र ?

यही व्यक्ति भनेर हामी तोक्न सक्दैनौं । हाम्रो पार्टीमा चुनावले नै संसदीय दलको नेता निर्धारण गर्छ । संसदीय दलको नेताका लागि चुनावमा जाँदा कति जना उम्मेदवार हुन्छन् भन्ने पनि महत्वपूर्ण हुन्छ ।

हाम्रो अनुमानमा दुई जना भन्दा बढीले संसदीय दलको चुनाव लड्नुहुन्न होला । एक जना मात्र पनि संसदीय दलको नेताको चुनावमा आउन सक्छन् । एक जना आए पनि दुई जना आए पनि हामी संसदीय दलको नेता भने चुनावबाटै छान्छौं ।

अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP