पुस्तक अंश : ‘कस्ता आलुपाँडे मन्त्री र’छन् गाँठे ? – Sarangi News

बेर

शिव सस्मित

‘बेर’ आम मानिसहरूको मुखे ओढारबाट फुत्त फुत्त सुलुत्त निस्कने शब्द हो । नेपालीहरूको मुख त यस मामिलामा झन् चर्को छ । “लौ बेर भो”, “आपूmलाई ह्याँ कस्तो बेर भाछ ।” “उफ् यस्तो बेर भाबेला नि के विधि काम आइलागेको” “अहिले बेर भ’छ पछि कुरा गरौँला है ?” आदि  कथनहरू नेपालीहरूको मथिङ्गलमा मानौँ, आजीवन डिपोजिट छन्, जति झिके पनि नसकिने गरी । यस्सो मेसो परिहाल्यो कि बिजुली चम्किएजसरी निस्कने गर्छन् र समयसितै जिस्कने गर्छन् ती । आखिर बेरको उत्पत्ति मान्छे समयको पाउबन्दीले घेरिँदा र बेरिँदा नै भएको गुदी यथार्थ हो तर अचेल बेरको निकै नै दुरुपयोग हुने गरेको कुरा पनि जगजाहेर नै छ । हतारको काम लतार भन्ने उखान त यहाँले सुन्नुभएकै होला, सुनेर पनि मनमनै गुन्नुभएको होला ।
अचाक्ली सुनिने शब्द बेर भए पनि बेरका समानार्थी शब्द धेर छन् । आफ्ना आफ्ना ठाउँ अनुसारका, आफ्ना आफ्ना गाउँ अनुसारका । कतै छोरा अनुसारका कतै बाउ अनुसारका । कतै सासु अनुसारका कतै बुहारी अनुसारका । आ–आफ्नै जुहारी अनुसारका । कतै ढिलो, कतै आत्तुरी, कतै लेट, कतै अबेर । जे जसरी पुकारे तापनि बेर मानव दुनियाँमा शेर बनेको छ । बेरले कसलाई कतिखेर कहाँ पु¥याउँछ पत्तो हुँदैन, कसलाई कहाँ अत्तो पार्छ ख्यालै हुँदैन । बेरका कारण कहाँ कसले लत्तो छोड्छ त्यो पनि यसै भन्न सकिँदैन ।
बेर सबैलाई भएकै छ । बेर नहुने त मान्छेबाहेकको प्राणी नै होला सायद । “आज किन स्कुल गइनस् ?” भनेर सोध्दा स्कुलको बच्चो बेर भएर भन्छ । “किन बेर भयो ?“ भनेर सोध्दा उसकी आमाले टाइममा भात पकाइनन् रे । स्कुल जान उसलाई फकाइनन् रे । किन पकाइनन् ? “आज अबेला उठिएछ ।” उनको उत्तर हुन्छ । किन अबेला उठिन् ? त्यो त उनको निजी मामिला हो । उनको आफ्नो ‘बिजी’ मामिला हो । सोध्ने कुरा पनि भएन ।
“आज किन अबेर आउनुभो ?” अफिसको हाकिमले फाँटवालालाई, हरेक दिन ढाँटवालालाई सोध्छ । “आज बेर भो ।”– उसको उत्तर हुन्छ । “किन बेर भो त ?” आज मन्दिर गएको थिएँ– परिवारसित, त्यसैले । “टाइममा जानुपर्छ नि त मन्दिर ।” हाकिम कड्किन्छन् । “मन्दिर जानै बेर भो नि सर, गएपछि यसो पूजा आजा गर्नैैप¥यो । मन्त्र ताजा गर्नैप¥यो । घन्टीसन्टी बजाउनैप¥यो । मनमा वर सजाउनैप¥यो । के हेरेर मात्र फर्किनलाई जाने हो र मन्दिर ? फुस्स सास फेरेर मात्र तर्किनलाई जाने हो र ? पूmर्ति ननिकाली ढोगेर मात्रै फर्किनलाई हो र मूर्ति ?” त्यसपछि कर्मचारी पनि हाकिमलाई खाउँलाजस्तै गरेर हेर्छ । उतिखेरै दिमागको पारो तताउँलाजस्तै गरेर हेर्छ । आखिर ऊ पनि के कम ? कर्मचारी युनियन, सङ्गठन के जातिको सदस्य न प¥यो । “मन्दिर जान किन बेर भो ?” अब यो प्रश्न सोध्ने आँट हाकिमले गरेनन् । किनकि त्यहाँ रेडिमेट उत्तर छन्, “आज अबेला उठिएछ ।” “किन ?” “हिजो बेलुका खाना खानै अबेर भएकाले ढिलो सुतिएछ ।” “साथीहरूसित बस्दा अलि बढी भएछ– दिमाग ह्याङ भो ।” “रातभरि लामखुट्टेले टोकेर निदाउनै सकिएन ।” “मुसाहरूले सुत्न दिएनन् ।” “आज राती त भयङ्कर डरलाग्दो सपना देखेँ ।” यस्तै यस्तै स्वयम् हाकिमसाबले पनि भोगेकै कुरा त हुन् नि !
एउटा अनौठो दृष्टान्त पनि छ— केन्द्रीय मन्त्री आउने भनेर उनको पार्टीका कार्जेकर्ताहरूले मञ्च बनाए । भेटका लागि स्वागत गेट बनाए । स्वागत गेटमा आगन्तुकलाई स्वागतका लागि फूल माला हातमा समातेर अघिल्लो दिनभर ल्वाङ चपाउँदै ढ्वाङ फुकेर जम्मा पारेका गोरा काला भोला भाला जनताहरू लहरै उभिए । एघार बजेको लागि टाइम दिएका नेताज्यूको कुनै अत्तोपत्तो छैन । मन्त्रीज्यूका कार्जेकर्ताहरूले ढ्वाङ फुकिरहेकै थिए– “अब एकछिनमै प्रमुख अतिथि आउनुहुनेछ, हामीसँग हात मिलाउनुहुनेछ । फास्सफुस्स बात मिलाउनुहुनेछ । केही नभए पनि आँखा त जुधाउनुहुनेछ । खुट्टा भने अघि अघि कुदाउनुहुनेछ । आमा बुबा दाजुभाइ दिदीबहिनीहरू न आत्तिइकन र नमाात्तिइकन बसिदिनुहुन अनुरोध छ ।”
तीन घण्टा उता सरिसक्यो । मन्त्रीलाई गुताउने फेटा पनि अलपत्र परिसक्यो । हातमा समातेको मालाको पूmल टन्टलापुर घामले ओइलिएर झरिसक्यो । मान्छेहरूका खुट्टा गलिसके । प्यासले आँत जलिसके । उस्तै परे बुढाबुढी ठाउँका ठाउँ ढलिसके तर अहँ, मन्त्रीले नाकै देखाएनन् । नाकै नदेखिएपछि मुख त देखिने कुरै भएन ।
भीडबाट आवाज आउन थाल्यो । “कस्ता आलुपाँडे मन्त्री र’छन् गाँठे ? दिएको ट्याममा नआउनी ? आफूलाई ह्याँ कस्तो बेर भा’छ । तिनलाई दिनभरि कुराउन पाए भो । गएर घराँ ड्याँलाई घाँसपानी दिउँला, आपूmले च्यापानी लिउँला भनेको यहीँ रात कालो हुने भो ।” “धत् यस्तो नि हुन्छ ? अझ एक ठाउँमा नगई नहुने थियो यहीँ बेर भो । नेता अझै नि आउन्नन् । को आए को आएनन्, को बसे को बसेनन् भनेर हेर्ने जिम्मा गाउँकै कार्जेकर्तालाई दिएका छन्, फेरि ऊ घुमेको घुम्यै छ । को कता छन् सुमेको सुम्यै छ, कुकुरले सुम्दै हिँडेजस्तो । यतिका समय बसेर हिँडेको थाहा पायो भने गाउँमा उसले बडा बडा आँखाले हेर्छ, कडा कडा पाराले बोल्छ ।”
खाली उद्घाटन, शिलान्यास ग¥याछन् । यता रिवन काट्याछन् उता आफ्नै दिन काट्याछन् । यिनलाई तलबभत्ता खान पनि बेरै हुँदो हो ।”
तोकिएको समयभन्दा चार घण्टापछि मन्त्री आए । उनको हिँडाइको गति यस्तो बेगवान थियो कि अलि परसम्म लिन गएका कार्जेकर्ताहरू र दुईचार जना सुरक्षाकर्मीहरू उनको पछि भुइँ नै नहेरी दौडिरहेका थिए । मानौँ उनीहरू चोरपुलिस गेम खेलिरहेछन् । नेपालमा कतै कतै चुनावको बेला मतपेटिका समातेर दगुरेका कार्यकर्ताको पछि पछि पुलिसहरू दौडिएथे रे, त्यस्तै भयो होला सायद त्यहाँ पनि ।  मन्त्रीज्यू गेटनजिकै पुग्दा अनुहार निलाकाला बनाएर माला हातमा लिएर बसेका जनता जनार्दनहरूले सुकेको माला नेताका गलामा गुताइदिए । कसैले हातमा पूmल दिए । “कस्तो बिझाउने माला ?” भन्दै नेताज्यूले माला झिक्दै साला पर्ने आफ्ना निजी सचिवलाई दिँदै गरिरहेका थिए ।
“ल ल बेर भइसक्यो छिटौँ सकौँ कार्यक्रम ।” मन्त्रीज्यूले मञ्चको आसनीमा आसन जमाउँदै उद्घोषकलाई भने । कस्तो अचम्म ! आफैँ अबेर आउनु छ फेरि बेर भएकै छ ।
काम थियो नवनिर्मित पार्टी कार्यालयको उद्घाटन । काट्नु थियो रिवन । चाट्नु थियो लड्डु । उनको राजनीतिक जीवन यसैमा त अडिएको थियो । उनका कार्जेकर्ताहरूले मन्त्रीलाई छिटो छिटो भवनतिर लिएर गए । “ल ल छिटो गरौँ बेर भइसक्यो । एकघण्टामा म अर्को कार्यक्रममा नपुगी भएकै छैन ।”
मन्त्री रिवन काट्न ठिक्क परे ।
“कैची खै ?”
“ला कैँचीको त ख्यालै गरिएनछ । जा जा रामे ल्याइहाल् ।”
“हत्तेरिका तपैँहरू पनि, यस्तो बेर भाको बेला । जाबो एउटा कैँचीको जोहो गर्न नसक्नेले किन कार्यक्रम राख्नु ?”
“होइन हजुर ! हतार हतारमा कैँची हाल्नै बिर्सिइएछ । रामेले ल्याइहाल्छ नि । एकछिन न आत्तिउँ ।”
“तपैँले न आत्तिऊँ भनेर हुन्छ ? समयले भन्नुपरेन ?”
मन्त्रीज्यू र मुख्य कार्जेकर्ताबीच गलफती हुँदाहुँदै रामेले कैँची ल्याइहाल्यो ।
“कति बेर ग¥या यति कैँची ल्याउन नि ?” रामेले फेरि खायो खप्की । मानौँ उसको भाग्यमा खप्की खान मात्र लेखेको छ । कपाल कन्याउँदै रामेले त भनेको थियो नि, “कैँची राखेको ठाउँमा थिएन, खोज्दा खोज्दै बेर भो ।” तर मन्त्रीलाई उसको गुनासो सुन्ने फुर्सद पो कहाँ थियो र ?
मन्त्रीले काटे रिवन । अरूले बजाए ताली ।सरक्कै फर्किएर मञ्चमा पुगे मन्त्री । “मलाई बेर छ । बोल्ने पालो अघि नै राख्नुस् ।” मन्त्रीज्यूको आदेश उद्घोषकले तामेली ग¥यो । माइक समातेर सर्वप्रथम मन्त्रीले आपूm आउन बेर भएको र जान पनि बेरै भएको भन्दै माफी मागे । चौरमा उनको भाषण सुन्न जम्मा भएको भीडमा गाइँगुइँ सुनिन थाल्यो– “हैन कस्ता काम पनि नभएका र फुर्सद पनि नभएका मन्त्री रैछन् ? बेरै मात्र हुने, कामको नाममा माखो पनि मारेको होइन । खाली उद्घाटन, शिलान्यास ग¥याछन् । यता रिवन काट्याछन् उता आफ्नै दिन काट्याछन् । यिनलाई तलबभत्ता खान पनि बेरै हुँदो हो ।”
आइनसक्दैको जानेबेलामा मुख्य कार्जेकर्तासित मन्त्रीले गुनासो पोख्दै थिए– “के गर्नु ! हिजो कार्यक्रमबाट अबेला आइयो । बिहान अबेलै उठिएछ । एउटा कार्यक्रममा जानु थियो, घराँ कुकुरले जुत्ता कता पु¥याएछ, खोज्दा एकछिन बेर भो ।(खितखितखितखित) । त्यसपछि कार्यक्रममा पुगेको प्रमुख अतिथि (प्रधानमन्त्री) आउनै बेर गर्नुभयो । प्रधानमन्त्री हुँदा हुँदै उठेर हिँड्न मिलेन । खाना खाएपछि अर्को कार्यक्रम भ्याउनु थियो । ड्राइभर मोराले गाडी ल्याउनै बेर ग¥यो, तेल सकिएर हाल्न गएको रे । त्यो कार्यक्रम सकेर यहाँ आउन ठिक्क पारेको हेलिकप्टर अर्का मन्त्रीलाई लिन गएको त्यतै बेर ग¥यो । अनि मलाई पनि बेर भो । बुझ्नुभो नि ? मान्छेहरू बेरको कुरा बुझ्दैनन् । आजकलको दुनियाँमा बेर कसलाई
हुँदैन र ?”
मन्त्री गएपछि त्यहाँ आएका मान्छेहरू नि किन बसून् ? जसले बेर ग¥यो भनेर मन्त्रीलाई गाली ग¥यो उसैलाई बेर भएको थियो । घर बुढालाई छोडेर आएका बुढीहरू “आज यहीँ बेर भो, बुढाले मार्ने भए ।” भन्दै दगुरे । घर बुढीलाई छोडेर आएका बुढाहरू पनि आज डाडुले डँडाल्नुमा खाने भइयो भन्दै निस्किए । तरुना तन्नेरीहरूलाई पनि आफ्नै खालको बेर भएको थियो । आयोजक कार्जेकर्ताहरूलाई पनि कुनै खालको बेर भएको हुँदो हो ।
ल हेर्नुस् त बेरको कमाल । मन्त्रीजस्ता मान्छेलाई त छाडेन बेरले भने तपाईं हामी त कुन दुनियाँका भालुभुत्ते परियो । यस्तो लाग्छ, यो दुनियाँ नै बेरले चलाएको छ । कतिका मन जलाएको छ, कतिका तालुमा आलु फलाएको छ । मानौँ बेरविनाको मान्छे र भतेरविनाको बिहे एउटै हुन् । पात्रो हेर्ने ज्योतिषी बालाई बेर भएर दुलाहा दुलहीको कुण्डलीमा अल्ठ्याङ्ग्रो प¥यो । मरेको लासमा कात्रो बेर्ने मलामी ‘दा’ लाई बेर हुँदा लासले छिटो सतगत पाएन । स्कुलका ‘सर’ लाई बेर भो, विद्यार्थी फेल । गाडीका गुरुलाई बेर भो, मान्छेका जिन्दगी नै फेल । चिकित्सालयका चिकित्सकलाई बेर भो र त अप्रेसनको कैँची पेटमै छोडियो । रोगीलाई बेर भो ओखती खानै बिर्सियो । आखिर कसलाई छोड्यो त बेरले ? जुवाका जुवाडेदेखि, मालपुवा बेच्ने व्यापारीसम्म, कुटीका जोगीदेखि सुकुटीका ढोँगीसम्म, आखिर बाँचुन्जेल हरेक मान्छेसितै छ बेर । मानौँ बेरले बेरिएपछि मात्र मान्छे नाङ्गो हुनबाट जोगिन्छ । बेरले घेरिएपछि मात्र मान्छेको अस्तित्व रहन्छ ।
के गर्नु बेरको अझै बखान गर्न त कति मन थियो तर बेरको बखान र हाम्रा नेताज्यूका उखान एउटै हुन्, तिनले पेट भरिँदैन क्यारे । पेट भर्न त काम गर्नु प¥यो नि । काममा जान बेर भो म पनि गएँ है त ल ! जदौ ।
भाेली बिमोचन हुँदै गरेकाे साहित्यकार शिव सस्मितको  हाँस्यब्यङ्ग्य निबन्ध सङ्ग्रह ‘कुरैकुराको खेती’  बाट साभार गरिएकाे 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP