प्रकाश सपूतकाे ‘वसन्त’: प्रेम होइन, प्रतिरोधको घोषणापत्र (समिक्षा) – Sarangi News

प्रकाश अधिकारी

नेपाली सिनेमा प्रायः मनोरञ्जनको साधनको रूपमा हेरिन्छ। तर कहिलेकाहीं कुनै फिल्म त्यस्तो बनिन्छ, जसले समाजको चेतनामा खल्बली मचाउँछ। प्रकाश सपूत निर्देशित ‘वसन्त’ त्यस्तै सिनेमाटिक हस्तक्षेप हो—जहाँ प्रेमको आवरणभित्र प्रतिरोधको स्वर लुकेको छ। सतहमा प्रेमकथा देखिए पनि, यसको गर्भमा जातीय विद्वेषको चिहानमाथि फूल राख्ने दुस्साहसिक प्रयत्न लुकेको छ।

सिनेमा होइन, सामाजिक दस्तावेज

‘वसन्त’को यात्रा प्रेमबाट सुरु हुन्छ—तर त्यो प्रेम बाँच्न पाउने अधिकारभन्दा कमजोर देखिन्छ। जब यो प्रेम जातीय अहंकारको पर्खालमा ठोक्किन्छ, तब फिल्म केवल कथा हुँदैन, समाजको ऐना बन्छ। यही ठक्करले फिल्मलाई विशुद्ध मनोरञ्जनभन्दा माथि उठाउँदै सामाजिक दस्तावेजमा रूपान्तरण गरेको छ। मैले यो पीडालाई नजिकबाट देखेको छु, भोगेको छु। २०६७ सालमा, जातीय भेदभावविरुद्धको दिवसका दिन, मालढुङ्गा नजिकैको अक्करे भीरबाट श्रावण श्रेष्ठ र अमृता बिकले हामफाले। समाजले त्यसलाई आत्महत्या भन्यो, तर त्यो प्रेमको निर्मम हत्या थियो। म त्यो घटनाको प्रत्यक्ष साक्षी थिएँ। त्यसपछि हामीले उक्त मुद्दालाई राष्ट्रिय दलित आयोग र ओएचआरसीसँग मिलेर अन्तर्राष्ट्रिय तहसम्म र्पुयायौं। प्रकाश सपूतले यही घटनालाई आधार बनाएर रेडियो नाटक बनाए, धौलागिरी एफएमबाट प्रसारण गरे। म पनि त्यही एफएममा ‘झुपडीको सन्देश’ कार्यक्रमको निर्माता थिएँ। सपूतको संवेदना, दृष्टिकोण र कलामा म साक्षीजस्तै थिएँ।

साहसिक कथा, साहसिक प्रस्तुतिः वसन्त

‘वसन्त’ नेपाली सिनेमा इतिहासमा बिरलै देखिने साहसको नमूना हो। जातीय विभेदजस्तो संवेदनशील र जटिल विषयलाई प्रेम र मानवीय संवेदनाको गहिराइबाट उठान गर्नु सजिलो काम होइन। यही कारणले फिल्म नेपाली समाजको गहिरो विडम्बना उजागर गर्दै बहसको केन्द्रमा आएको छ।

सिनेमा केवल प्रेमको कथा होइन—प्रेम गर्न पनि किन अनुमति चाहिन्छ भन्ने प्रश्नले दर्शकलाई झस्काउँछ। ‘वसन्त’को बलियो पक्ष यसको विषयवस्तु हो—जातीय भेदभाव, सामाजिक असमानता, र तिनलाई तोड्ने साहसी प्रेम। यही कारणले ‘वसन्त’ इतिहासमा स्थान सुरक्षित गर्नेछ।

यसका अतिरिक्त, नयाँ अनुहारहरूको सशक्त उपस्थिति, ग्रामीण परिवेश, हरियाली, स्कुले जीवन, गीत–संगीत, र सपूतको सजीव अभिनयले फिल्ममा नयाँपन र ताजापन भरेको छ।

विरोध किन? बहसको मूल विषय जात हो

सिनेमााथि बहिष्कारको अभियान चलाइयो । बहिष्कारको बाह्य कारण—ओलीको प्रशंसा भन्ने प्रचार गरियो। तर गहिराइमा पुग्दा बुझिन्छ, ओली त बहाना मात्रै थिए। मूल विषय थियो—एक दलित कलाकारले आफैं आफ्नो पीडा बोल्ने साहस देखाउनु।

‘पूजार सार्की’ वा ‘पूर्णबहादुरको सारंगी’जस्ता कथामा खासै आपत्ति नजनाएको समाजले ‘वसन्त’मा विष किन वर्सायो? किनभने यो कथा दलितको आँखाबाट देखिएको हो, दलितको आवाजमा बोलेको हो। दलितले आफैं आफ्नो दुःख प्रस्तुत गर्दा ‘तिमीलाई यो अधिकार छैन’ भन्ने गढिएको मानसिकता झल्किन्छ।

सिनेमाको एक गीतमा ‘जिजस’ र ‘बाइबल’ शब्द प्रयोग गरिएको आधारमा प्रकाश सपूतमाथि ‘क्रिस्चियनको दलाल’ भन्दै आक्रमण गरियो। यो केवल संकुचित सोचको उपज मात्रै होइन, नेपालजस्तो बहुधार्मिक राष्ट्रमा धार्मिक सहिष्णुताको अभावको संकेत पनि हो। धर्मनिरपेक्षतामाथि उठेको यस्तो प्रश्न गम्भीर विमर्शको विषय बन्नुपर्छ।

वसन्त’ हेर्नु भनेको सिनेमा हेर्नु होइन, आँखा खोल्नु हो

यो फिल्म हेरेपछि हलबाट निस्कँदा तपाईं केवल दृश्य सम्झनुहुन्न—तपाईंभित्र केही हल्लिन्छ, केही रिस उठ्छ, गहिरा प्रश्नहरू जन्मिन्छन्। यही हो—साँचो सिनेमाको उपलब्धि।

अवश्य, फिल्ममा केही कलात्मक कमजोरी छन्—कहिलेकाहीं दृश्यको ठाउँमा संवादको भर, कथाको प्रवाह कतैकतै अवरुद्ध, यथार्थ र अति-यथार्थबीचको द्वन्द्व आदि। तर यी कमजोरीहरू फिल्मको उद्देश्यको अगाडि गौण देखिन्छन् । हामीले ‘बोक्सीको घर’मा उनको कलात्मकता ताली बजाउँदै स्वागत गरेका थियौं। अब, ‘वसन्त’मा उनले बोकेको विद्रोहको किन विरोध गरौं?

निष्कर्ष :

‘वसन्त’ प्रेमकथा होइन। यो दलित आवाजको सशक्त घोषणा हो। सामाजिक विभाजनमाथिको प्रहार हो। सामूहिक पीडाको साक्षात्कार हो।  अनि सायद, नेपाली सिनेमा इतिहासमा एउटा मोड पनि। सिनेमाको समिक्षा ‘सिनेमामात्र’ को रूपमा गरिँदा अन्याय हुन्छ। यो सिनेमा मात्रै होइन, चुनौती हो। दलित आवाजलाई अपमान गर्नेहरूलाई र आफूलाई ‘मानव’ भन्ने हरूलाई यो  सिनेमा एउटा कटु ऐना हो। हेर्नुहोस्, रिसाउनुहोस्, तर बुझ्ने प्रयास गर्नुहोस्–किनभने ‘वसन्त’ तपाईं हाम्रो मुखौटा च्यात्न आएको छ । प्रकाश सपूतजस्ता कलाकारहरू समाजको आँखा हुन्—हामीले हेर्न नचाहेको साँचो देखाइदिने आँखा। ‘वसन्त’ त्यही सत्यको उद्घोष हो—बाहुन र कामीको प्रेमकथा होइन, बरु नेपाली समाजको शिरमाथि घाम बन्न खोजेको किरण हो। ‘वसन्त’ त्यो आगोको ज्वाला हो, जुन समाजको हड्डी भित्रको चिसो विभेद पगाल्न आएको छ । बाँकी सिनेमा मनोरञ्जनका लागि बन्छन् ‘वसन्त’ परिवर्तनका लागि बनेको छ । सपुतलाई यो सर्जनशील यात्राको अन्त्यमा शुभकामना र दर्शकहरूलाई आग्रह—सिनेमालाई खुला नजरले हेरौं, बहस गरौं, तर घाँटी नरेटौं।

(लेखक, कवि तथा पत्रकार अधिकारी सामुदायिक विद्यालयका सामाजिक शिक्षक समेत हुन्)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

धम्पु दुराले ठाडो भाका जग्गा किन्ने प्रतिवद्दता गर्यो शिवरात्रीमा

कालिकामा एसइईको तयारीमा रहेका विद्यार्थीलाई बिदाइ तथा शुभकामना

ओली : शिक्षाका सौदागर, निजी विद्यालयका ठेकेदार !

एक सैनिकको अर्को युद्ध :समाज परिवर्तन

छाँयामा परेको पौराणिक ईतिहास बोकेको जटेश्वर बुढा महादेव मन्दिर।

विद्यालयमा पठन संस्कृति : अवस्था, चुनौतीहरू र समाधान


TOP