
प्रिय पुरुष
तिम्रो पनि त मन छ ,
पीडाहरू पनि हुन्छ होला,
कहिलेकाहीँ
त सास नै रोकिने गरि मुटु पनि दुख्छ होला,
त्यो बेला के गर्छौं…?
फेरि तिमीलाई त अनुमति पनि छैन कि,
आमाको पछ्यौरीमा लुट्पुटिँदै,
काखमा शिर राखेर,
भक्कानो छोडेर रून
अनि,
बाको काँधमा अडेस लगाएर
लामो सास फेर्दै पीडाहरू पोख्न पनि त सक्दैनौँ,
साँच्चै त्यो बेला के गर्छौं,?!
प्रिय पुरुष,
तिमीसँग पैसा भएन भने त
परिवारको पनि हेला हुन्छौं,
त्यो बेला
काँधभरी जिम्मेवारी
अधुरा सपना
रित्तो गोजी
मनभरि पीडा
अनि हँसिलो अनुहार
साच्चै यो सब कसरी सहन सक्छौं,!

भन्न त दुनियाँले भन्छन् कि,
पुरुष कठोर हुन्छन्,
तर मलाई त लाग्छ
पुरुष कठोर मात्र नभएर
मजबुत हुन्छन्
अनि मजबुर पनि…!
✍️ सर्मिला सुनार