Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
आरती आचार्यको कविता : उनीहरूले कलम भेट्याएका छन् – Sarangi News

उनीहरूले कलम भेट्याएका छन् – आरती आचार्य 

 

जब जब उनीहरू फूल लेख्थे, जूून लेख्थे
नदी र किनाराको बिछोड लेख्दै
झरेका पातमा आफ्नो बिम्ब देख्थे
तब उनीहरू ‘काव्यिक’ थिए
तब उनीहरू ‘कवि’ थिए।

रङहरूमा समय चोबलेर इतिहास रङ्ग्याउँदै गर्दा
जब क्यानभासमा निर्बिरोध उभिन्थे
याैवनले मत्त आइमाईका नग्न चित्रहरू
तब उनीहरू ‘कलात्मक’ थिए
तब उनीहरू ‘कोमल’ थिए

बेलाबेला कुनै बहुराष्ट्रिय कम्पनीको
मोटरबाइकको विज्ञापनमा जब टाँगिन्थे
चिल्ला, सेता, पुष्ट तिध्राहरू/वक्षस्थलहरू
तब उनीहरू ‘सुन्दर’ थिए
तब उनीहरू ‘रहस्यमय’ थिए

तर एकदिन सभ्यताको गतिशीलतामा
चेतनाको बाढी पस्यो
इन्कार गरिदिए वनफूलहरूले केवल ‘फूल’ बन्न
बरू रोजे दिप्त अनि चम्किलो ताराको बिम्ब
तब उनीहरू ‘काव्यिक’ रहेनन्।
तब उनीहरू ‘कवि’ रहेनन्।

तिमीले हिर्काएका चोटका दागहरू
सुम्सुम्याउँदा सुम्सुम्याउँदै आजित बनेर
जब उनीहरूले सामुहिक प्रतिवादको
मुठ्ठी उठाउन थाले
तब उनीहरू ‘कलात्मक’ रहेनन्
तब उनीहरू ‘कोमल ‘ रहेनन्
उनीहरूका कविताहरू ‘नारा’ बने
उनीहरूका आवाजहरू ‘जर्जर’ बने

जब अस्विकार गरिदिए उनीहरूले
आफू लेखिइएको, बताइएको, देखाइएको
तिम्रो इतिहासको नग्न चित्र बन्न
तिम्रा व्यापारको विज्ञापन बन्न
तिम्रा आँखाको शीतलता बन्न
तब उनीहरू ‘सुन्दर’ रहेनन्
तब उनीहरू ‘रहस्यमय’ रहेनन्

हो यो व्यवस्थाको, यो वर्गको, यो राज्यको
साहित्य, कला, सङ्गित, भूत
या वर्तमानका फित्तामा
ननापिन सक्छन् यी ‘नाराहरू’
नअटाउन सक्छन् यी ‘इनकलाबहरू’
तर यो सत्य हो कि
तिमीले लगाइदिएको काँडेतार तोडेर
नाङ्गो पैतालाले कोशाैँ दूरीको यात्रा नापेपछि
उनीहरूले कलम भेट्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP