डा. बस्ताकोटी आए नयाँ कथाकृति लिएर – Sarangi News

पोखरा, चैत २१ गते । कथाकार भूमिराज बस्ताकोटीको नयाँ कथासङ्ग्रह ‘विक्रमादित्य ! यसको उत्तर भन’ शनिवार पोखरामा लोकार्पण भएको छ ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सरुभक्त, विशिष्ट अतिथि रमेश श्रेष्ठ, स्रष्टा, परिचर्चाकारद्वय प्रा.डा. विष्णुप्रसाद पौडेल र डा. सवीन्द्रराज भण्डारी, संस्थाका अध्यक्ष सुरज पौडेल तथा स्रष्टाका मातापिताले कृतिको लोकार्पण गरेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले स्रष्टाले पाठकको अपेक्षाअनुसार सिर्जना गर्दा त्यसले धेरैलाई समेट्न सक्ने र बस्ताकोटीका कथाले त्यसलाई निर्वहन गरेको विचार व्यक्त गरे ।

कृतिमाथि परिचर्चा गर्दै प्रा.डा. विष्णुप्रसाद पौडेलले सङ्ग्रहमा सङ्गृहीत २२ वटा कथालाई लामा, मध्यम तथा छोटामा वर्गीकरण गर्दै बस्ताकोटीको कथाशिल्प छोटा कथामा निकै सशक्त रहेको धारणा व्यक्त गरे । कथाभित्र विभिन्न विषय र शिल्पका कथा भए पनि अरू कथाका सापेक्षमा विनिर्मित कथाहरू सबल रहेको र त्यसले बस्ताकोटीको मौलिकतालाई पनि बोकेको विचार प्रस्तुत गरे ।

कृतिमाथि परिचर्चा गर्दै अर्का परिचर्चाकार डा. सवीन्द्रराज भण्डारीले बस्ताकोटीका कथामा आधुनिक तथा उत्तरआधुनिक विविध शिल्पसँगै अधिआधुनिकताका विविध मान्यताको पनि उपयोग भएको धारणा राखे । कतिपय कथाहरू चैतन्यको उच्चावस्थामा लेखेको र तिनले काफ्का जस्ता विश्वव्यापी सुप्रसिद्ध कथाकारका कथा पढ्दा आउने भावतर्फ आफूलाई लगेको उनको धारणा थियो ।

कार्यक्रममा कवि रमेश श्रेष्ठ र कन्या क्याम्पसका प्रमुख सुरेशकुमार मानन्धरले कथाकार बस्ताकोटीलाई सुन्दर कृति प्रकाशन गरेकामा बधाई ज्ञापन गरे ।

स्रष्टा भूमिराज बस्ताकोटीले अचेतनावस्थाबाटै आफूमा कथाप्रति आकर्षण रहेको अहिले थाहा पाएको कुरा अनुभव सुनाए । उनले  कुनै घटना र सन्दर्भप्रति प्रतिक्रियात्मक हुनु नै कथा सिर्जनाको मूल कारक रहेकाले कथा मान्छेको आदिम चेतनासँग जोडिएको विचार राखे ।

बस्ताकोटीका यसअगि परिस्थिति (२०५९), निर्मोचन (२०६८) र निमित्त मात्र (२०७१) गरी ३ उपन्यास, कार्निभल (२०७६) कथा सङ्ग्रह र स्वैरकल्पना र उपन्यासकार ध्रुवचन्द्र गौतम (२०६६) समालोचना प्रकाशित छन् । बस्ताकोटी पोखराकै कन्या क्याम्पसमा प्राध्यापनरत छन् ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने सचिव डा. पीताम्बर पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

​दीपक माविको ६७ औं वार्षिकोत्सव सम्पन्न, लोकनृत्यमा न्यू वेस्ट पोइन्ट प्रथम

पोखरा–३३ मा अकला मन्दिरको ट्रस्ट भवन र खानेपानी ट्याङ्की उद्‍घाटन


TOP